- संगालोखबर सम्वाददाता
निवर्तमान मेयर पर्शुराम नेपाल । फाइल तस्वीर : संगालोखबर

धनकुटा । पाँच बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेर महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल विदाई भएका छन् । विदाई हुँदै गर्दा सोमबार एक वक्तव्य जारी गर्दै उनले महालक्ष्मी नगरबासीसहित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । आफ्नो कार्यकालमा नगरबासीको हितमा सकेसम्म राम्रो काम गर्ने प्रयत्न गरेको उल्लेख गर्दै उनले काम गर्ने क्रममा केही कमी कमजोरी भएमा माफी पनि मागेका छन् ।

‘आज गाउँका चौतारीमा बा आमा सुस्ताउने फलैचा बनेका छन् । रुदै गरेका वालवालिकालाई भुलाउँने पार्क बनेका छन् । हाम्रो नगरपालिकाका जुनसुकै गाउँका नागरिक अर्को पालिकाको जुनसुकै ठाउँमा पनि सहज रुपमा आवतजावत गर्न सक्ने सडक पूर्वाधार निर्माण भएका छन् । विद्यालयका वालवालिकाले अफ्ठेरो पर्दा नगरपालिकाका जनप्रतिनिधि सम्झिन्छन्, गाउँघरका विरामी तथा ज्येष्ठ नागरिकले औषधि छुटेका बेला नगरपालिका सम्झिनुहुन्छ, यहाँहरुले दिनुभएको एउटा ठूलो जिम्मेवारी पुरा गर्ने क्रममा भएका हाम्रा कर्मले मैले र मेरो टिमले यो विश्वास कायम गर्न सकेका हौं,’ वक्तव्यमा मेयर नेपालले लेखेका छन्, ‘बिभिन्न असहजता र प्रतिकुलताका वावजुत पनि मैले सकेसम्म राम्रो गर्ने प्रयत्न गरेको छु, मेरो कार्यकालमा म र मेरो टिमबाट कुनै गल्ति कमजोरी भए एउटा मानवीय कमजोरीको उपज सम्झेर हामीलाई माफी दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’

Advertisement

आफुले काम गर्ने क्रममा कुनै पनि नागरिकलाई विभेद नगरेको भन्दै उनले अब पनि विभेद नगर्न नयाँ निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । ‘जिम्मेवारी पुरा गर्ने क्रममा मैले कहिल्यै कसले कता भोट हाल्यो सोधिन, को मान्छे कुन भेगको हो वास्ता भएन, कुन मान्छे कुन पार्टीको हो भनेर कार्यसञ्चालनमा विदेन गरिन,’ मेयर नेपालले लेखेका छन्, ‘हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि निर्वाचित भइसकेपछि जनताका सेवक हौं, पार्टीको कार्यकर्ताभन्दा हामीसँग मानवीय संवेदना छ । यो संवेदनामा दलगत स्वार्थ हावी हुन हुँदैन । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मेरो यही सन्देश छ ।’

जिल्लाकै कान्छो र स्रोत साधनका हिसावले पछि परेको महालक्ष्मीमा अपेक्षाकृत कामहरु हुन नसकेपनि विकासका लागि हरेक क्षेत्रमा आधार तयार भएको मेयर नेपालको ठहर छ । कार्यकालको बीचमा आइपरेको कोराना महामारीले थप प्रतिकुल वातावरण सृजना गरेको उनले उल्लेख गरेका छन् । आफु सधै महालक्ष्मीको हित चाहने भन्दै उनले जुनसुकै बेला पनि आफ्नो आवश्यकता परेमा हातेमालो गर्न तयार रहने प्रतिवद्धता जनाएका छन् ।

अहिले निर्वाचनमा अपेक्षा गरे भन्दा फरक नतिजा आएको भन्दै उनले अब फेरी महालक्ष्मीमा सूर्य उदाउँने दावी पनि गरेका छन् । उनले लेखेका छन्, ‘यो बिषम परिस्थितीमा चारैतिरबाट बादल मडारिएर केही समय घामलाई छेकेको हो । वादलले अन्धकार छर्न सक्दैन । अन्धकार छर्न घाम अस्ताउँनुपर्छ । हामी अस्ताएका हैनौं, वादलको घेराबन्दीमा परेका हौं, प्रतिक्षा गरौं, एकदिन महालक्ष्मीको डाँडामा घाम उदाउँनेछ र उज्यालो छर्नेछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!