- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबार पदभार ग्रहण गरेका छन् । मेयर ध्रुवराज राया र उप–मेयर मञ्जु अधिकारीसहितका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् ।

Advertisement

पदभार ग्रहण गर्दै मेयर रायाले महालक्ष्मीका बिपन्न, अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । महालक्ष्मी नगरका करिब ५ सय घरधुरीलाई स्वास्थ्य बीमा बापत लाग्ने रकम नगरले बेहोर्ने उनको भनाई छ । ‘महालक्ष्मीका बिपन्न, अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको स्वास्थ्य बीमा निःशुल्क गछौं,’ मेयर रायाले संगालोखबरसँगको कुराकानीमा भने, ‘यी सबै क्षेत्रलाई समेट्दा महालक्ष्मीका करिब ५ सय घरधुरी बराबरको बीमा हामीले बेहोर्नुपर्ला भन्ने सोचेको छु ।’

सरकारले केही बर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । एक परिवारका पाँच जना सदस्यको बीमा गर्दा बार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । सो बापत पाँच जनाले एक बर्षभर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार निःशुल्क पाउँछन् । सोही बीमा बापत प्रतिपरिवार तीन हजार पाँच सयका दरले तिर्नुपर्ने रकम नगरले बेहोर्ने मेयर रायाले बताए ।

यता, पदभार ग्रहण गर्दै उप–मेयर अधिकारीले जनताको हितमा लागिपरेर काम गर्ने प्रतिवद्धता जनाइन् । उनले महालक्ष्मी नगरको उप–मेयरमा दोस्रो कार्यकालको पदभार ग्रहण गरेकी हुन् । यसअघि पनि महालक्ष्मीको उप–मेयर रहेकी अधिकारीलाई एमालेले पुनः सोही पदमा उम्मेद्वार बनाएको थियो । उनी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै बिजयी भएकी हुन् ।

यता, गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता राया भने एमाले उम्मेदवारलाई पराजित गर्दै मेयरमा बिजयी भएका हुन् । उनीहरुको पदभार ग्रहण अघि मेयर रायाले नगरका जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, महालक्ष्मी नगरका निवर्तमान मेयर पर्शुराम नेपाल लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!