- रबिन कटेल/संगालोखबर

बिराटनगर । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् ।

Advertisement

उनले ३० हजार १ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरेका हुन् । विराटनगरको मेयरका लागि चुनावी मैदानमा उत्रिएका १२ जना उम्मेदवारलाई पछि पार्दै कोइराला मेयरमा निर्वाचित भएका हुन् ।

२०३० जेठ ३१ गते जन्मिएका कोइराला विद्यार्थी जिवनदेखि नै राजनीतिमा सक्रिय छन् । जनप्रशासनमा स्नातकोत्तर गरेका उनी २०५४ सालबाट नेपाल तरुण दलमार्फत औपचारिक रूपमा नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन् । ०५४ सालमा तरुण दल मोरङको कोषाध्यक्ष भएका उनी २०५६ सालमा सभापति बने । लामो समयसम्म तरुण दलको नेतृत्व सम्हाल्ने अवसर पाएका कोइराला २०६६ सालमा कांग्रेस मोरङको कोषाध्यक्ष बने ।

२०७२ मा काँग्रेस मोरङको सचिवमा निर्वाचित भएका उनी २०७८ सालमा उप–सभापति चुनिए । विराटनगरको सम्पन्न परिवारका सदस्य मानिने नागेश विभिन्न उद्यम र व्यवसायमा संलग्न छन् । विराटनरको मेयरको आकांक्षी बनेका कांग्रेसका केन्द्रीय सदस्यहरु अमृत अर्याल, डा.डिला संग्रौला र भीम पराजुलीलाई उछिन्दै टिकट पाएका कोइराला अन्ततः मेयरमा निर्वाचित भए ।

यता, गठबन्धनलाई फराकिलो मतान्तरले उछिन्दै एमाले उम्मेदवार शिल्पा कार्की विराटनगर महानगरको उप–मेयरमा निर्वाचित भएकी छन् । कार्की २३ हजार ६ सय ८० मतसहित उप–मेयरमा निर्वाचित भइन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जनता समाजवादीका अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गर्दै कार्की उप–मेयरमा बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १४ हजार २ सय १९ मत प्राप्त गरे ।

२०३५ मंसिर २४ गते सिरहाको लहानमा जन्मिएकी शिल्पा नेकपा एमाले विराटनगर महानगरकी उपाध्यक्ष पनि हुन् । लहानमै विद्यालय तहको अध्ययन पुरा गरेकी उनले विराटनगरस्थित डिग्री क्याम्पसबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेकी छन् । सामाजिक अभियन्ताको पहिचान बनाएकी उनी बिभिन्न उद्यमा पनि सक्रिय छन् ।

१९ वडा रहेको विराटनगर महानगरमा एमालेले सबैभन्दा बढी ९ वडा जितेको छ । वडा नं. १, २, ३, ४, ८, १०, ११, १४ र १९ मा एमालेले बिजय हासिल गरेको हो । यता, अघिल्लो निर्वाचनमा सात वडा जितेको कांग्रेस यसपटक ६ वडामा खुम्चिएको छ । उसले वडा नं. ५, ६, ७, ९, १५ र १६ वडामा जित हासिल गरेको छ ।

जनता समाजवादीले वडा नं. १२ र १७ जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१३ र स्वतन्त्र उम्मेदवारले वडा नं.१८ जितेका छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मेयर र उप–मेयरसहित ७ वटा वडा एक्लै जितेको कांग्रेस यस पटक भने कमजोर देखिएको छ । मेयर जितेपनि विराटनगरमा कांग्रेस अल्पमतमा परेको छ । १ लाख ३३ हजार १ सय २४ मतदाता रहेको विराटनगरमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!