- रबिन कटेल/संगालोखबर
शनिवार भेडेटारबाट नियन्त्रणमा लिइएका सरकारी मोटरसाइकलहरु ।

धनकुटा । बिदाको दिन सरकारी गाडी कुदाउन नपाउँन प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउनु पर्छ । तर, धनकुटामा भने यो नियमको पालना भएको छैन ।

नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । धनकुटामा सामान्य कर्मचारीदेखि कार्यालय प्रमुखसम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ । सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइएको छ ।

Advertisement

बिदाको दिन सरकारी गाडी कुदाउने कर्मचारीलाई सचेत गराउँने गरिएको भएपनि यो क्रम नरोकिएको धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरू बताउँछन् । ‘विदाको दिन सरकारी गाडी कुदाउनेहरुलाई सम्झाईबुझाई छोड्ने गरेका थियौं,’ धनकुटाका ट्राफिक प्रहरी हवल्दार दीपक खड्का भन्छन्, ‘माथिबाट कडाइ गर्न निर्देशक आएकाले अब चै गाडी नियन्त्रणमा लिन थालेका छौं ।’

सरकारले इन्धनको खपत घटाउन भन्दै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिन थालेको छ । शनिवार मात्र बिदा हुँदै आएको भएपनि अब आइतबार पनि बिदा थप भएको हो । बिदा बढ्दा सरकारी सवारी साधन कम प्रयोग भएर इन्धनको खपत घट्ने सरकारको अनुमान छ । तर, बिदाको दिन हुने सरकारी सवारीको दुरुपयोगले इन्धन खपत घट्नुको सट्टा उल्टै बढ्ने संकेत देखिएको छ ।

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग बढेपछि प्रहरीले कडाइ गर्न थालेको छ । पहिले बिदाको दिन सरकारी गाडी कुदाउनेलाई सचेत मात्र गराउँने गरिएको भएपनि शनिबारबाट त्यस्ता सवारीलाई नियन्त्रणमा लिन थालिएको हो ।

एकैदिन ३५ सरकारी गाडी नियन्त्रणमा

बिदाको दिन कुदाउँदै गरेको अवस्थामा धनकुटाबाट प्रहरीले शनिवार ३५ वटा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । भेडेटार, हिले, सिधुवा र धनकुटा बजारबाट सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो ।

बिदाको दिन सरकारी सवारी साधन कुदाउन नपाउने प्रावधान भएकाले चेकिङमा कडाइ गरेर सरकारी सवारी साधनहरू नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । ‘विदाको दिन सरकारी गाडी कुदाउन पाइदैन, कार्यालय प्रयोजनमा कुदाउनै परे जिल्ला प्रशासनको पास लिएर मात्र कुदाउनु पर्छ,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘यसरी नियम विपरित बिदाको दिन कुदाउँदै गरेको अवस्थामा सरकारी गाडीहरू नियन्त्रणमा लिएका छौं ।’

हिलेबाट १७, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटा बजारबाट एक/एक वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको डीएसपी दाहालले जानकारी दिए । नियन्त्रणमा लिइएका मध्ये चार चक्के गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल हुन् । बिदाको दिन शनिवार सरकारी सवारी साधन कुदाउने कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका कर्मचारी फन्दामा परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!