- संगालोखबर सम्वाददाता

धनकुटा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित धनकुटाका जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । जिल्लाका सात वटै पालिकामा नव निर्वाचित पालिका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले सपथ लिएका हुन् ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले तीन नगरपालिकाका नगर प्रमुख र चार गाउँपालिकाका अध्यक्षलाई सपथ ग्रहण गराए । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, पाख्रीवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले सपथ लिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पराजुली र प्रमुख जिल्ला अधिकारी युवराज कटेलले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिए ।

सपथ ग्रहणपछि सात वटै पालिकाका प्रमुखहरुले शुक्रबार नै आ–आफ्नो पालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । यसैबीच, सात वटै पालिकाका उप–प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले पनि सपथ ग्रहण गरेका छन् । सबै पालिकामा कार्यक्रम आयोजना गरी सम्बन्धित पालिका प्रमुखले आ–आफ्नो पालिकाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन् । उनीहरुले पनि शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

सात पालिका र ६० वडा रहेको धनकुटामा ३ सय १४ जनप्रतिनिधि निर्वाचित हुनुपर्ने भएपनि दुई पद रिक्त छन् । धनकुटा नगरपालिका–८ मा दलित महिला सदस्य पदमा उम्मेद्वारी नै नपरेपछि सो पद रिक्त छ । चौविसे गाउँपालिकामा पनि निर्वाचन लगत्तै एक जना वडा सदस्यको मृत्यु भएपछि सो पद पनि रिक्त भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!