- गोमा ढुंगाना/संगालोखबर
धनकुटाको सहिदभूमि गाउँपालिका–२ साम्बुगाउँस्थित छिन्ताङ मावि केन्द्रमा मतदान गरिदै । तस्वीर: बिनोद विष्ट/संगालोखबर

धनकुटा । स्थानीय तह निर्वाचनका लागि धनकुटाका १५९ वटै मतदान केन्द्रबाट मतदान सुरु भएको छ । जिल्लाका सात वटै पालिकामा रहेका सबै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान थालिएको हो ।

सबै मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्र पराजुलीले जानकारी दिए । ‘धनकुटाका सबै मतदान केन्द्रबाट मतदान सुरु भयो,’ पराजुलीले संगालोखबरसँग भने, ‘जिल्लाभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ, काँही केही समस्या छैन ।’

Advertisement

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा ११८ मतदान स्थल तोकिएको छ । धनकुटामा ५७ हजार ७ सय १६ पुरुष र ५८ हजार २ सय ४८ महिला गरी कुल १ लाख १५ हजार ९ सय ६४ मतदाता छन् । जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा २२ हजार ९ सय ७१ र सबैभन्दा कम सहिदभूमि गाउँपालिकामा १३ हजार ५ सय ३६ मतदाता छन् । धनकुटामा ७८२ जना उम्मेद्वार चुनावी मैदानमा छन् । एकल उम्मेद्वारी परेपछि तीन जना दलित महिला वडा सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

धनकुटाको पाख्रीवास नगरपालिका–७ स्थित सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बीरः सन्तोष सुवेदी/संगालोखबर

मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अहिले मतदान केन्द्रहरुमा मतदाताको लाइन छ । बिहानैदेखि उनीहरु मतदानका लागि लामबद्ध भएर बसेका छन् । मतदान गर्न जाँने, मतदान गर्ने र फर्कने क्रम चलिरहेको छ ।

शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण मिलाउँन धनकुटामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २०५१ जना सुरक्षाकर्मी परिचालन गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!