- संगालोखबर सम्वाददाता

रुकुम पूर्व । रुकुम पूर्वमा महिलाको हत्या गरेको आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको अपहरणपछि हत्या गरेको आरोपमा वैशाख २६ गते उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

रोल्पाको थवाङ गाउँपालिका–१ घर भई माइतीमा बस्दै आएकी दुथी १९ गते रातिदेखि हराएकी थिइन् । हराइरहेकी उनको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो । महिलाको शव भेटिएलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

चुनाव प्रचार–प्रसारका क्रममा वडा नम्बर ११ को तल्लोसेरामा एमाले र माओवादी कार्यकर्ताबीच १९ गते राति झडप भएको थियो । झडपको केही समयपछि नै ती महिला बेपत्ता भएको बताइएको छ । २० गते परिवारले प्रहरीका बेपत्ता भएको भन्दै खबर गरेका थिए । खोजतलासकै क्रममा २६ गते बिहान महिलाको शव भेटिएको थियो ।

प्रहरीका अनुसार महिलाको हातखुट्टामा चोट देखिएको छ । जिल्ला अस्पतालमा रहेका चिकित्सकले पोस्टमार्टम गर्न नमानेपछि शव बुटवल पठाएर पोस्टमार्टम गरिएको थियो । नेकपा एमालेले माओवादी कार्यकर्ताले महिलाको हत्या गरेको आरोप लगाएको छ । त्यस्तै माओवादीले भने झडपका क्रममा एमाले र कांग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरी महिलालाई बेपत्ता बनाएको आरोप लगाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!