काठमाडौं । सिन्धुपाल्चोकमा अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । अन्तरजातीय विवाह कै कारण पति र उनको परिवार मिलेर छोरीको हत्या गरेको भन्दै सिन्धुपाल्चोकका सानुकान्छा र लक्ष्मी तिरुवा (विक) दम्पती प्रहरी समक्ष पुगेका हुन ।

उनीहरुले महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा छोरी माया विकका पति सुजन तामाङ, दुई दिदी, भिनाजु र भाइविरुद्ध किटानी जाहेरी दिएका हुन् । गत वैशाखमा सिन्धुली, हसाईका सुजनसँग अन्तरजातीय प्रेमविवाह गरेकी मायाको फागुन ३ गते राजधानीमा मृत्यु भएको थियो।कालोपुलमा डेरा गरी बस्दै आएका सुजनले मायालाई आफ्नै डेरामा झुन्डिएको भन्दै टिचिङ अस्पताल पुर्‍याएका थिए ।

Advertisement

अस्पतालले तत्कालै उनलाई मृतक घोषणा गरेको थियो। जाहेरीकर्ताले अन्तरजातीय विवाहकै कारण छोरीको हत्या भएको किटानी गरेका छन्। सुजन र भाइ सुमनलाई प्रहरीले बिहीबारै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ।

घटना विवरणअनुसार सुजनले फागुन ३ गते नै धादिङ बस्दै आएका सासु लक्ष्मी तिरुवा र ससुरा सानुकान्छालाई फोनबाट जानकारी गराएका थिए। ‘बुबा मायाले त हामीलाई छाडेर गयो, ज्वाइँले यस्तै भनेका थिए’, सानुकान्छाले भने।

उनका अनुसार मायाले त्यही दिन साँझ ५ देखि ५ः३० बजेको अवधिमा आमा–बुबालाई पालैसँग फोन गरेकी थिइन् । पहिलो फोनमा बुबा सानुकान्छालाई ‘मलाई मार्ने भए, भाडा पठाइदिनू बुबा, म त्यहीँ आउँछु’ भनेको उनले सुनाए। उनी काममा थिए, आजै भाडा कसरी पठाउने भन्दै कामतिर लागे।

‘त्यसको एकछिनमै फेरि फोन आयो। दोस्रो फोनमा माया हतासमा कराउँदै थिइन्, धेरै जनाको आवाज आइरहेको थियो, बुबा ढोका खोल्नू, यिनीहरुले मलाई मार्ने भए भनेकी थिई’, सानुकान्छाले त्यस दिनको फोनवार्ता सुनाए। त्यही साँझ सात बजेतिर ज्वाइँले अर्कैको नम्बरबाट फोन गरेर छोरीले आत्महत्या गरेको जानकारी दिएको उनले बताए। डेढ घन्टाअघि र पछिको फोन विवरणले छोरीको हत्या भएको सानुकान्छा दम्पतीले दाबी गरेका छन्।

‘उही साँझ रुँदै फोन गर्नु र एकछिनपछि ज्वाइँले नै घटना विवरण सुनाउनुले हत्या नै भएको हो भन्ने देखिन्छ’, बुबा सानुकान्छाले भने।

उता, आरोपित सुजनले राष्ट्रिय दलित अधिकार आयोगको टोलीसमक्ष त्यो साँझ कामबाट फर्केका बेला पत्नीले मुख लगाएका कारण आफूले दुई/तीन झापड लगाएर बाहिर निस्केको र फर्किंदा झुन्डिएको अवस्थामा देखेको बताएका छन्। ‘झुन्डिएको देखेपछि मैले परान छ कि भनेर प्रहरीलाई खबर नगरी आफन्त बोलाएर टिचिङ पुर्‍याएँ’, सुजनले भने।

घटनाबारे महानगरीय प्रहरी वृत्त, कमलपोखरीले अनुसन्धान भइरहेको जनाएको छ। बिहीबार कमलपोखरी पुगेको राष्ट्रिय दलित अधिकार आयोगको टोलीले पनि घटनाको प्रकृति हेर्दा हत्या नै भएको दाबी गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!