- संगालोखबर सम्वाददाता

काठमाडौं । बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै छ । मौन अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएको छ ।

Advertisement

मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ । मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ । सामाजिक सञ्जाल, अनलाइन, छापा लगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट वा सेयर गर्न, गराउन रोक लगाएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटक लगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहीत वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोगले जनाएको छ ।

अस्पतालका चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावशक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन । मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय आयोगले गरेको छ । वैशाख ३० गते वर्षात हुने मौसम पूर्वअनुमान अनुसार आयोगले सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!