- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमालेको तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरका उम्मेद्वार दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर काम गर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–२ मा शनिवार एमालेको चुनावी कार्यक्रममा बोल्दै उम्मेद्वार बुढाथोकीले यस्तो बताएका हुन् ।

Advertisement

अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै उनले त्यसले निष्ठाको राजनीतिमा होमिएका इमान्दार ब्यक्तिको भावनामा ठेस पुग्नसक्ने बताए । ‘ब्यापार र राजनीतिमा आकास–जमिनको फरक छ । ब्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरुको सेवा गर्नु हो,’ उनले भने, ‘सबै ठाँउको नेतृत्वमा राजनीतिक चेत बोकेको सुझबुझपूर्ण ब्यक्ती पुग्नुपर्छ । त्यसले मात्रै जनहितमा काम गर्छ ।’

कार्यक्रममा एमालेको तर्फबाट महालक्ष्मी नगरकी उपमेयर उम्मेद्वार मञ्जु अधिकारीले पहिलो कार्यकालको अनुभवले आगामी कार्यकालमा थप जनमुखी काम गर्ने बताइन् । अधिकारी महालक्ष्मी नगरकी निवर्तमान उपमेयर पनि हुन् । उनलाई एमालेले पुनः उपमेयरको उम्मेद्वार बनाएको हो ।

मेयरका उम्मेद्वार बुढाथोकी पुराना कम्युनिष्ट नेता हुन् । एमाले प्रदेश १ कमिटी सदस्यसमेत रहेका उनी २०४२ सालदेखि राजनीतिमा सकृय छन् । उनले यसअघि तत्कालीन चानुवा गाबिसको अध्यक्षमा दुई कार्यकाल निर्वाचित भएर सफलतापूर्वक काम गरिसकेका छन् ।

‘महालक्ष्मीमा एमालेको जित सुनिश्चित’

एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले महालक्ष्मी नगरमा एमालेले क्लिन स्वीप गर्ने दावी गरे । अग्रजको आशीर्वचन र युवाको भरोसा एमालेको साथमा रहेकाले एमालेको जित सुनिश्चित रहेको उनले बताए । मेयरका उमेद्वार बुढाथोकी यसअघि दुई कार्यकाल जनप्रतिनिधिको रुपमा काम गरिसकेको र जनता माझ इमान्दार र परिचित ब्यक्ती भएकाले सहज जित हुने उनको भनाई छ ।

जिल्ला समन्वय समितिका सभापति एवं एमाले नेता टंक चुवानले महालक्ष्मीमा एमालेले जितको झन्डा फहराइसकेको बताए । जनमुखी काम नै एमालेको जितको बलियो आधार रहेको उनको तर्क छ । सो अवसरमा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले पनि महालक्ष्मीमा एमालेको जित सुनिश्चित भइसकेको जिकिर गरे । जितले औपचारिकता पाउँन मात्र वाँकी रहेको उनको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!