- संगालोखबर सम्वाददाता
पसल अनुगमन गरिदै । तस्वीर: संगालोखबर

धनकुटा । प्रशासनले धनकुटा बजार क्षेत्रमा रहेका होटल र पसलहरुमा बुधबार छड्के अनुगमन गरेको छ । बसपार्क, त्रिवेणी चौक, हुलाकटोल, बीचबजार र भीमनारायण चौक क्षेत्रका होटल र पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा कतिपय पसलमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि प्रशासनले त्यस्ता सामाग्री जफत गरेको छ । बजार क्षेत्रका कतिपय पसलमा भुजिया, सुजी, जुस लगायत खाद्य एवं पेय पदार्थ उपभोग्य मिति नाघेको पाइएपछि जफत गरिएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले बताए ।

टोलीले बजार क्षेत्रमा प्रतिनिधिमूलक रुपमा तीन वटा होटल र छ वटा खाद्य तथा किराना पसलको छड्के अनुगमन गरेको थियो । अनुगमन टोलीका अनुसार बसपार्कको एक होटलमा अखाद्य बस्तु मिसाएर बनाएको जेरी र म्याद नाघेको जुस भेटियो । त्रिवेणी चौकको किराना पसलमा म्याद गुज्रिएको भुजिया र बीच बजारको पसलमा उपभोग्य मिति नाघेको सुजि पिठो फेला पर्यो । ती सामाग्रीहरु अनुगमन टोलीले जफत गरेको हो ।

अधिकांस किराना पसलहरुमा मूल्यसूचि नभएको र भएर पनि अपडेट नगरेको भेटिएपछि अबदेखि मूल्यसूचि अपडेट राख्न अनुगमन टोलीले निर्देशन दिएको छ । बीच बजारको एउटा पसल दर्ता विनानै सञ्चालनमा रहेको पाइएको छ । त्यसलाई तत्काल दर्ता गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । त्यस्तै, होटलहरुलाई खाद्य गुणस्तर बढाउँन सुझाव दिइएको छ ।

अनुगमन टोलीमा सहायक प्रजिअ श्रेष्ठसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिगोपाल कर्माचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अनुप हलवार्ड, खाद्य निरीक्षक सुशिल कोइराला, घरेलु कार्यालयका प्रमुख इश्वर थापा, प्रहरी निरीक्षक तिर्थकुमार कार्की, पत्रकार महासंघका कोषाध्यक्ष एवं प्रेस चौतारीका अध्यक्ष रबिन कटेल, उपभोक्ता हित संरक्षण मञ्चका गोविन्द भट्टराई लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!