- संगालोखबर सम्वाददाता

धनकुटा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा उम्मेद्वारको टुंगो लगाएको छ । एमाले १ नम्बर प्रदेश कमिटीले जिल्लाका सात वटै पालिकाका प्रमुख र उप–प्रमुखका उम्मेद्वारको टुंगो लगाएर शनिवार साँझ जिल्ला कमिटीलाई नाम पठाएको एमाले स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । तर, जिल्ला कमिटीले भने आधिकारिक रुपमा उम्मेद्वारको नाम सार्वजनिक गरेको छैन ।

Advertisement

विश्वस्त स्रोतका अनुसार एमालेले धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा भीमादेवी खनाल, पाख्रीवास नगरपालिकाको मेयरमा भीमबहादुर राई र उप–मेयरमा नम्रता गौतम देउजा तथा महालक्ष्मी नगरपालिकाको मेयरमा दिपक बुढाथोकी र उप–मेयरमा मञ्जु अधिकारीलाई उम्मेद्वार बनाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बु र उपाध्यक्षमा गोमा कार्की, सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई, साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजंग याखा र उपाध्यक्षमा मुना राई तथा चौविसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ्ग र उपाध्यक्षमा टंकमाया पाङ्नीमगरलाई एमालेले उम्मेद्वार बनाएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिकामा बिजयी बनेको एमालेले धनकुटा नगरपालिका, सहिदभूमी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा भने यसअघिकै प्रमुखलाई पुनः सोही पदमा उम्मेद्वार बनाएको छ । सहिदभूमि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पुनः सोही पदमा उम्मेद्वार बनेका छन् ।

महालक्ष्मी नगरपालिकाकी उप–मेयरले पनि पुनः सोही पदमा उम्मेद्वारको टिकट पाएकी छन् । यता, पाख्रीवास र चौविसे गाउँपालिकामा भने प्रमुख र उप–प्रमुखमै नयाँ उम्मेद्वार उठाइएको हो । महालक्ष्मी र सहिदभूमि बाहेक पाँच वटै पालिकाका उप–प्रमुखमा पनि नयाँ व्यक्तिलाई उम्मेद्वारको रुपमा अघि सारिएको एमालेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!