- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनकुटा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका वाँकी छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यालयले बिहीबार जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर चुनावको तयारी थालेको हो ।

सदरमुकामस्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सात वटै पालिकामा कार्यालय स्थापना गरेर निर्वाचनको कामलाई तीव्रता दिइएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

सहिदभूमि गाउँपालिकामा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्ट्रार रुद्रमणी गिरी, चौविसे गाउँपालिकामा जिल्ला अदालतका श्रेस्तेदार राजन बास्तोला र छथर जोरपाटी गाउँपालिकामा उच्च सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्ता गोकुलबहादुर निरौलालाई निर्वाचन अधिकृत तोकिएको छ ।

पाख्रीबास नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता राजेन्द्र भट्टराई, महालक्ष्मी नगरपालिकामा जिल्ला समन्वय अधिकारी सफल पोर्तेल र साँगुरीगढी गाउँपालिकामा धरान उपमहानगरपालिकाका उपसचिव रत्न बहादुर कटुवाललाई निर्वाचन अधिकृत तोकिएको छ ।

कति छन् मतदान स्थल र केन्द्र ?

स्थानीय तह निर्वाचनका लागि धनकुटामा १ सय १८ मतदान स्थल तोकिएको छ । जसमा १ सय ५९ मतदान केन्द्र निर्धारण गरिएको छ । धनकुटा नगरपालिका १५ मतदान स्थल र २८ मतदान केन्द्र छन् । महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थल र २६ मतदान केन्द्र तथा पाख्रीबास नगरपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र तोकिएको छ ।

साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थल तथा २५ मतदान केन्द्र, चौविसे गाउँपालिकामा २१ मतदान स्थल तथा २४ मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ मतदान स्थल तथा १७ मतदान केन्द्र र सहिदभूमि गाउँपालिकामा १३ मतदान स्थल तथा १८ मतदान केन्द्र छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!