- रबिन कटेल/संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित हस्पिटल चौकमा गएराती आगलागी हुँदा एउटा घर र चार वटा पसल जलेर नष्ट भएका छन् । आगलागीका क्रममा सिलिण्डर बिस्फोट हुँदा जलेर तीन जना घाइते भएका छन् ।

राती करिब १२ बजेबाट सुरु भएको आगोले स्थानीय सोभादेवी घिमिरेको घर जलेर नष्ट भएको छ । त्यस्तै, चौकमा रहेका दुई वटा होटल, एउटा किराना र एउटा कपडा पसल जलेर नष्ट भएका छन् । घरसहित सोभादेवीको किराना पसल, दिपन राजवंशी र अमाङ्सु राजवंशीको होटल तथा तुलसी प्रसाद उप्रेतिको कपडा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘सडक किनारामा रहेको पसलबाट सुरु भएको आगोले वरपर रहेका अरु पसल र पछाडि रहेको घर पनि जलेर नष्ट भएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘तीन वटा दमकलको सहयोगमा करिब २ घण्टापछि आगो निभाएका छौं ।’

Advertisement

विराटनगर महानगरपालिकाको दुई वटा र दुहवी नगरपालिकाको एउटा दमकलको सहयोगमा प्रहरी र स्थानीयबासीले राती करिब २ बजे आगो नियन्त्रणमा लिएका हुन् । आगलागीका क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आगो निभाउँन खटिएका विराटनगर महानगरपालिकाको दमकलमा कार्यरत तीन जना कर्मचारी घाइते भएका छन् । सिलिण्डर पड्किदा आगोले जलेर दमकलका कर्मचारी विराटनगर–४ का भीम बिष्ट, विराटनगर–२ का अशेष दाहाल र प्रेमकुमार राजवंशी घाइते भएका हुन् । स्थानीय म्याक्स हस्पिटलमा उनीहरुको उपचार भइरहेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विरामीको भागाभाग

आगलागी भएको हस्पिटल चौकमा एक दर्जन भन्दा बढी अस्पताल तथा क्लिनिक छन् । मध्यरातमा आगो लागेर सिलिण्डर विस्फोट हुँन थालेपछि आसपासमा रहेका अस्पतालका विरामी र कुरुवाको भागाभाग भएको प्रत्यक्षदर्शी बताउँछन् । आगो लाग्ने क्रममा होटलमा रहेका चार वटा सिलिण्डर बिस्फोट भएको थियो । ठूलो आवाजमा सिलिण्डर विस्फोट हुँदा त्रास फैलिएर भागाभाग मच्चिएको हो ।

अस्पतालसँगै रहेको भवनमै आगो लागेपछि विरामी र कुरुवालाई बाहिर निकालेर आफु पनि ज्यान जोगाउँन भागेको संजीवनी अस्पतालकी स्टाफ नर्श सनम ठकुरीले बताइन् । ‘हस्पिटलमा पनि आगो सल्किन्छ जस्तो भयो, हामी सबैजना भाग्यौं, विरामीलाई पनि बाहिर निकाल्यौं,’ ठकुरीले भनिन्, ‘तर धन्न हस्पिटल चै जोगियो ।’ आगो सल्किने डरले गोल्डेन अस्पतालमा पनि विरामी र कुरुवाको भागदौड मच्चिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!