संगालोखबर सम्बाददाता

काठमाडौं । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्याएको भन्दै विशिष्ट व्यक्ति र संस्थाहरूलाई पुरस्कृत गरिएको छ । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले एक समारोह बिच उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन् ।

Advertisement

प्रतिष्ठानद्वारा स्थापना गरिएको अक्षय कोषबाट हरेक दुई वर्षमा प्रदान गरिने ५ लाख राशिको श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार पहिलो पटक नेपालको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पुर्याएवापत नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर काठमाडौँका हिमालय शम्सेर जबरालाई प्रदान गरिएको छ ।

विगत नौ वर्षदेखि प्रदान गरिँदै आएको १ लाख एक हजार १ सय ११ राशिको रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार खोटाङ जिल्लामा जीवन उपयोगी व्यवहारिक ज्ञानसहित व्यवसायिक कृषि लगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत रुपमा कृषि विज्ञ मदन राईको नेतृत्वमा स्थापित ललितपुरस्थित ‘सुभद्रा–मदन फाउन्डेसन’ र कृषि पेसामा यान्त्रीकरणका माध्यमबाट उत्पादकत्व अभिवृद्धि, विद्यमान अधिक श्रम तथा समय खर्चिने परिपाटीमा सुधार गर्न सानादेखि ठूला कृषि औजारसमेत उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पुर्याएको बापत काठमाडौँस्थित ‘चन्द्रा गिरी मेशिनरी उद्योग’का सञ्चालक गोविन्द भक्त श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

त्यसैगरी १ लाख १ हजार १ सय ११ राशिको गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरूको आर्थिक सशक्तीकरण, पारिवारिक स्वास्थ्य सेवा, प्राकृतिक तथा सामाजिक प्रकोपका पीडितहरूको उद्धार, सामाजिक कुसंस्कारविरुद्धको अग्रसरता साथै धार्मिक अनुष्ठानहरूमा पुर्याएको योगदान बापत काठमाडौं निवासी युवती खड्का केसीलाई र सोही राशिको अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील भई नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका कवि, कथाकार, निबन्धकार, समालोचक र नाट्यकर्मी विराटनगरका विवश पोखरेललाई प्रदान गरिएको हो ।

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित नवौं पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्द, विशिष्ट अतिथिद्वाय पूर्व मन्त्री भद्र घले, वरिष्ठ पत्रकार भैरव रिसाल, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ र पाँचै जना पुरस्कृत व्यक्तिले सम्बोधन गरेका थियो । पुरस्कार वितरण समारोह प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!