ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं. २०७९ साल वैशाख ३ गते शनिवार ई.सं.२०२२ अप्रिल १६ नेपाल सम्बत ११४२ चौलाथ्व पुन्हि चैत्र शुक्ल पूर्णिमा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल पूर्णिमा तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, व्याघात योग, विष्टि/भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । आज हनुमान जयन्ती व्रत÷वैशाख स्नान प्रारम्भ/पूर्णिमा व्रत परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्द्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनुपर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनुपर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्नेछ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन्, तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ । सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । बोलीमा अङ्कुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो समय नै छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ, तर आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन । रातीअबेर धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्द्धीहरूमाथि विजय प्राप्त हुनेछ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्त्वपूर्ण कुरा फुत्काउन सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दान, पुण्यका कार्यमा आकर्षण बढ्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुनेछैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नुपर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जानसक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्नसक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!