- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगरस्थित भाटभटेनीको क्यूएफएक्स फिल्म हलमा पहिलो पटक बिहीबार मध्यरातमा फिल्म चल्यो । यसअघि राति ८ः३० बजेसम्म अन्तिम शो चलाउँने गरिएको भएपनि क्यूएफएक्सले मध्यराति ११ः४५ बजेको शो पनि देखायो । राति २ः३० बजे सकिने फिल्म हेर्न दर्शकको थामीनसक्नु भीड थियो । मध्यरातको टिकट पनि नपाएर दर्शक त्यसै फर्किन बाध्य भए । बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र केजीएफ–२ हेर्नका लागि दर्शकको ओइरो लागेपछि क्यूएफएक्सले पहिलो पटक मध्यरातको सो चलाएको हो ।

Advertisement

यता, सेन्ट्रल मलस्थित सेन्ट्रल मल्टिप्लेक्समा पनि आइतवारसम्मका लागि टिकट बुक भइसकेको छ । एक हप्ता अघि टिकट काट्नेहरुले बल्ल फिल्म हेर्न पाउँदैछन्, शुक्रबार टिकट काट्नेहरुले फिल्म हेर्नका लागि कम्तिमा आइतवारसम्म कुर्नु पर्ने वाध्यता छ ।

क्यूएफएक्स र सेन्ट्रल मल्टिप्लेक्समा मात्र हैन, विराटनगरका सबै फिल्म हलमा अहिले दर्शकको ओइरो लागेको छ । सिटी सिनेमा, आरके सिनेमा, हिमालय टाकिज, अरुण सिनेमा लगायतमा पनि दर्शकको अत्यधिक भीड छ । इतिहासमै पहिलो पटक विराटनगरमा यति धेरै दर्शकको भीड लागेपछि मध्यरातमा पनि फिल्म चलाउनु परेको क्यूएफएक्सका मेनेजर राजन ठाडा मगर बताउँछन् । ‘दर्शकको अत्यधिक भीड भएपछि हामीले इतिहासमै पहिलो पटक यसरी मध्यरातमा फिल्म चलाउदैछौं,’ मगरले भने, ‘केजीएफ–२ हेर्नका लागि दर्शकको ठूलो प्रतीक्षा थियो, अहिले नयाँ बर्ष पनि भएकाले हलमा दर्शकको ओइरो छ, हल फुल भएकाले दर्शकलाई त्यसै फर्काउनु परिरहेको छ ।’

सेन्टल मल्टिप्लेक्सका व्यवस्थापक रमेशकुमार झा पनि विराटनगरमा पहिलो पटक दर्शकको थामीनसक्नु भीड लागेको बताउँछन् । दर्शकको चाप अत्यधिक बढेपछि अहिले फिल्महलहरुले दिनमा ११ शो सम्म चलाइरहेका छन् । सामान्यतया पहिले दिउँसो र साँझमात्र फिल्म देखाउँने हलहरुले अहिले एकाबिहानैदेखि रातभरजसो फिल्म चलाउँइरहेका छन् ।

केजीएफ–२ हेर्न फिल्म हल पुगेका धेरै दर्शकहरुले टिकट नपाउँदा त्यसै फर्कनु परेको गुनासो गरेका छन् । क्यूएफएक्स हलको टिकट काउन्टरमा भेटिएका विराटनगरका अनुप महतो र नरबहादुर माझीले टिकट नपाउदा त्यसै फर्कनु परेको गुनासो गरे । सेन्टल मल्टिप्लेक्समा फिल्म हेरेर निस्किएका विराटनगरका कुमार पौडेलले एक हप्ता अघि टिकट काटेर बल्ल फिल्म हेर्न पाएको सुनाए ।

दुई बर्ष अघि चलेको केजीएफ–१ ले दर्शकको राम्रो साथ पाएको थियो । त्यसकै दोस्रो च्याप्टरका रुपमा आएको केजीएफ–२ हेर्नका लागि दर्शकको ठूलो प्रतीक्षा थियो । त्यसमाथि नयाँ बर्ष पनि परेकाले फिल्महलहरुमा दर्शकको अत्यधिक भीड बढेको हो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका फिल्महलहरु अहिले दर्शकको भीडका कारण राहत महसुस गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!