- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नयाँ बर्ष २०७९ को सुरुवातमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लागेको छ । धनकुटासहित धरान, इटहरी, विराटनगर, झापासहित छिमेकी देश भारतबाट आएका पर्यटकहरूका कारण झरनामा घुँइचो लागेको हो ।

Advertisement

नयाँ वर्षको पहिलो दिन बिहीबार मात्र करिब २० हजार मानिस झरनामा आएको झरना व्यवस्थापन समिति अध्यक्ष दिलिप कुमार लिम्बले बताए । उनका अनुसार अत्यधिक भीड बढेपछि त्यसलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी, स्वयंसेवक परिचालन गर्नुपरेको छ ।

पूर्वी नेपालका पर्यटक मात्र नभई छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्र जोगवनी, सिक्किम, दार्जिलिङ र बिहारबाट पनि ठूलो सङ्ख्यामा पर्यटकहरू आएका छन् । बिर्तामोडबाट नमस्ते झरना हेर्न आएकी कृष्ण चौहानले झरनामा भीडभाडमा पनि रमाइलो भएको बताइन् । त्यस्तै, झरनामै भेटिएका उदयपुरको त्रियुगाका प्रकाशकुमार बस्नेतले पनि रमाइलो भएको प्रतिक्रिया दिए ।

कोरोना महामारीका कारण यसअघि सो झरना सुनसान थियो । जसका कारण सो क्षेत्रका २० भन्दा बढी होटल विस्थापित भए । तर, कोरोना कम हुँदै गएपछि अहिले पर्यटकको चहलपहल बढेको हो । झरनामा पर्यटक बढाउँन नयाँ वर्षले थप सहयोग पुर्याएको छ । कोरोनाका कारण निरास बनेका सो क्षेत्रका होटल व्यवसायीहरू पर्यटक बढ्न थालेपछि उत्साहित भएका छन् ।

कोशी लोकमार्गबाट करिब ३० मिनेटको पैदल यात्रामा पुगिने सो झरनामा झण्डै ८० मिटर माथिबाट पानी झरेको छ । घना जङ्गलबीचमा रहेको झरनामा पहाडबाट झरेको चिसो पानीको छहरामा रुझेर पर्यटकहरू रमाउने गर्छन् ।

यसैबीच, पहिरो गएर झरना जाने बाटो साँगुरो भएको र तिखा ढुंगाहरुका कारण आवतजावतमा समस्या भएको भन्दै पर्यटकहरूले त्यसलाई सुधार गर्न सुझाव पनि दिएका छन् ।

तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!