रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ सम्पन्न भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा आयोजित बृहत व्यापार मेला आइतवार सम्पन्न भएको हो ।

Advertisement

१० दिनसम्म सञ्चालित एक्स्पोमा करिब ४० करोड बराबरको आर्थिक कारोवार भएको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘सव्य र भव्य रुपमा एक्स्पो सम्पन्न भयो, एक्स्पोमा राखिएका स्टलहरुबाट राम्रो कारोबार भएको छ,’ अध्यक्ष रिजालले भने, ‘१० दिनमा झण्डै ४० करोड बराबरको कारोबार भयो भन्ने हामीले अनुमान गरेका छौं ।’ खानेकुरा, गार्मेन्ट र प्लाष्टिकजन्य सामाग्रीका स्टलहरुमा संख्यात्मक रुपमा धेरै कारोबार भएको अनुमान गरिएको छ । तर, बढी मूल्यको कारोबारका हिसावले सवारी साधनको व्यापारलाई लिइएको छ ।

मोरङ, झापा, सुनसरीसहित पूर्वी नेपालका अधिकांस जिल्लाका मानिसले एक्स्पो अवलोकन गरेका छन् । मेला अवलोकनका लागि भारत, बंगलादेश र पाकिस्तानबाट पनि मानिसहरु आएको अध्यक्ष रिजाल बताउँछन् । करिब २ लाख ५० हजार दर्शकले मेला अवलोकन गरेको उनले बताए । ‘पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारत, बंगलादेश र पाकिस्तानबाट पनि मेला हेर्न मानिसहरु आउँनु भयो, मेला अवधिभर झण्डै अढाई लाख भन्दा बढी मान्छे आएको रेकर्ड छ,’ रिजालले भने ।

चैत १८ गतेबाट ९ दिनका लागि भन्दै एक्स्पो सञ्चालन गरिएको थियो । तर, दर्शकको आकर्षण देखेर एक दिन समय थप गर्दै १० दिनसम्म मेला सञ्चालन गरिएको हो । एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान र वंगलादेशका उत्पादनहरु विक्रि वितरण र प्रदर्शनीका लागि राखिएको थियो । एक्स्पोमा एसी जडित ८० र कुलरयुक्त ६० स्टलसहित २७० स्टल राखिएको थियो । एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, अटोमोवाइल्स, बालउद्यान र खानाका परिकारका स्टलहरु राखिएका थिए । पहाडी जिल्लाका उत्पादनहरुको प्रवद्र्धनका लागि ४० स्टल बेग्लै छुट्याइएको थियो ।

हरेक दिन साँझ राष्ट्रिय कलाकारहरु ल्याएर गरिएको सांस्कृतिक कार्यक्रमले एक्स्पोमा दर्शकलाई थप आकर्षण गर्यो । साँस्कृतिक कार्यक्रममा दर्शकको चाप अत्याधिक हुँने गरेको थियो । एक्स्पोमा राखिएको लण्डन ब्रीज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल लगायतको नमुना संरचनामा पनि फोटा खिचाउँनेको घुँइचो लाग्ने गरेको थियो । प्रदर्शनीस्थलमै व्यवस्था मिलाइएको जिपलाइन, रिभर्स बन्जी र स्काई साइक्लिङले पनि धेरैको ध्यान खिचेको थियो ।

एक्स्पो महत्वपूर्ण रह्यो: मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक गतिविधि बढाउँन एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । एक्स्पो समापन कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री राईले राष्ट्रिय पूँजीको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता मेलाहरुले ठूलो सहयोग पु¥याउने बताए ।

स्वदेशी उत्पादनको प्रर्वद्धन र राष्ट्रिय पूँजी बढाउन यस्ता मेलालाई निरन्तरता दिनुपर्ने भन्दै उनले निजी क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुलुकुलाई समृद्धिको बाटोमा लैजान तीनै तहका सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

एमाले नेता एवं पूर्वमन्त्री हिक्मत कार्कीले निजी क्षेत्रलाई सहयोग गर्न एमाले सदैभ तयार गरेको बताए । मेलामा सहयोग पुर्याउँनेहरुलाई आयोजक मोरङ व्यापार संघका अध्यक्ष रिजाल र मेला संयोजक विकास वेगवानीले धन्यवाद ज्ञापन गरे । सो अवसरमा उत्कृष्ट स्टलका प्रमुख एवं प्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!