राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

विराटनगर । सप्तरीको राजविराजले विराटनगरमा सञ्चालित प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बैजनाथपुर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा जनकपुर उप–महानगरपालिकालाई १० रनले हराउँदै राजविराजले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालका अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिषेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन रायले ४ ओभरमा ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सिमित भयो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुव आलमले १ विकेट लिए ।

उपाधिसँगै राजविराजले १ लाख १ हजार नगद र ट्रफि पाएको छ भने उप–विजेता जनकपुरले ५१ हजारमा चित्त बुझाएको छ । विजयी टिम तथा खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूर्व प्रशिक्षक राजकुमार दास र जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले पुरस्कृत गरेका छन् ।

होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर महानगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । ६ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि ६ टिमबीच प्रतिष्प्रधा भएको थियो ।

error: Content is protected !!