- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्ज महानगरपालिलाई पराजित गरेको हो ।

Advertisement

पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजका लागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरी २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १/१ विकेट लिए ।

१ सय ३८ रनको विशाल रनको लक्ष पाएको विराटनगरले १६ दशमलव ३ बलमा सबै विकेट गुमाई ९१ रनमा सीमित भयो । विराटनगरका लागि मिनस थापाले २८ रन जोड्दा मुकुन्द यादवले १४ रन तथा रेवती यादव र सिद्धान्त लोहनीले १२–१२ रनको योगदान दिए । राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादव, विश्वकिर्तीमानधारी बलर महबुव आलम र राहुल मण्डलले २/२ विकेट विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सबै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियोे । जनकपुरका लागि हरिशंकर साहले १९ रन बनाउँदा रोनक रत्नम, विशाल सुस्लीङ र रुपेश यादवले १०/१० रन बनाए । विरगञ्जकाका लागि सम्शाद मन्सुरीले ३ ओभरमा १४ रन दिए ५ विकेट लिँदा अरनिको यादवले ३ विकेट लिए ।

७७ रनको झिनो लक्ष्य पछ्याएको विरगञ्जले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सीमित भयो । विरगञ्जका लागि अरनिको यादवले २४ रन बनाउँदा साहिल पटेलले १३ रन र इमरान शेखले १२ रन जोडे । जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लीङले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा हरिशंकर साहले १ विकेट लिए । फाइनल खेल शनिवार हुँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!