- संगालोखबर सम्बाददाता

काठमाडौं । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै, महालक्ष्मी नगरपालिका ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले हस्ताक्षर गरेका छन् । दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यास आदानप्रदान गर्ने लगायत बिषय समझदारी पत्रमा उल्लेख छन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख नेपाल र उपप्रमुख अधिकारी तथा महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख श्रेष्ठ, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखे । उनीहरुले भगिनी सम्बन्धले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि लगायत पनि सहभागि थिए । सोही अवसरमा महालक्ष्मी नगरपालिका, ललितपुरको नगर गान पनि सार्वजनिक गरियो । त्यस्तै, महालक्ष्मी नगरपालिकाको प्रयास र उपलब्धी पुस्तक विमोचन तथा महालक्ष्मी पत्रिका विमोचन पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!