- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको विहीवार भएको खेलमा राजविराज नगरपालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा विहीवार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ । राजविराज समुह ए को विजेता भएको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो । राजविराजका लागि म्यान अफ द म्याच विकाश दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरी २३ रन बनाउँदा अमित यादवले १४ रन र अभिशेक कार्कीले १३ रन बनाए । जनकपुरका हरिशंकर साहले ३ विकेट लिँदा साइमन रायले २ विकेट लिए ।

८२ रनको झिनो रनको लक्ष्य पाएको जनकपुरले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ७५ रनमा सिमित भयो । जनकपुरका लागि अकबर अलिले ३९ रन जोड्दा हिमाञ्सु दत्तले १३ रन जोडे । राजविराजका नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा विश्वधारी बलर महबुव आलम, अनिल यादव र रोहित सिंहले १–१ विकेट लिए ।

दोस्रो खेलमा विरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको छ । जितपछि विरगञ्ज समुह वि को विजेताको रुपमा सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रमक ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियोे । विराटनगरका लागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार ४५ रन बनाउँदा दिपक पासवानले २८ रन बनाए । विरगञ्जका कागि इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए ।

१ सय ४५ रनको विशाल लक्ष्य पाएको विरगञ्जले १७ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । विरगञ्जका लागि म्यान अफ म्याच तिर्थराज दासले ४० बलमा २ टक्का र ४ चौका प्रहार गर्दै ५२ रनको ठोस इनिङ खेले । त्यस्तै सोनु अन्सारीले ३६ रन बनाए । विराटनगरका मुकुन्द यादवले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा मेहबुबबाबु इराकीले १ विकेट लिए ।

शुक्रबारको पहिलो सेमिफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमिफाइनल खेल जनकपुर र विरगञ्जविच हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!