- रबिन कटेल/संगालोखबर

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादीले देशलाई इतिहासकै संकटपूर्ण अवस्थामा पुर्याएको आरोप लगाएका छन् । राप्रपाले बुधबार विराटनगरमा आयोजना गरेको आमसभालाई संवोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख दलहरुकै कारण देश हालसम्मकै संकटपूर्ण अवस्थामा पुगेको आरोप लगाएका हुन् ।

मुख्य दलका कारण राज्यका तीन अंग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका काम गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष लिङ्देनले बताए । बैङ्किङ्ग क्षेत्रमा तरलता, विकासका आयोजनामा बजेट अभाव र देशमा ऋणको भार निरन्तर बढ्नुले देश नजानिदो तरिकाले संकटमा फस्दै गएको अध्यक्ष लिङ्देनको तर्क छ ।

उनले यही अवस्था रहिरहे देश असफल राष्ट्रको रुपमा परिणत हुँनसक्ने खतरा पनि औल्याए । ‘हाम्रो सामान्य आँखाले हेर्दा देश ठिकै रुपमा चलेको जस्तो देखिन्छ । तर, अहिले देश इतिहासकै सबैभन्दा अफ्ठेरो र संकटपूर्ण अवस्थामा फसेको छ,’ लिङ्देनले भने, ‘अदालत, संसद र सरकार काम गर्न नसक्ने अवस्थामा मात्र पुगेका छैनन्, तीनै अंगको नियन्त्रण र सन्तुलनको अवस्था पनि गुमेको छ, यही अवस्था रहिरहने हो भने देश असफल राष्ट्रको रुपमा परिणत हुँनसक्छ ।’

कागज र मसी किन्ने पैसा नभएर श्रीलंकाले विद्यार्थीको परीक्षा रोक्नु परेको उदाहरण दिदैं अध्यक्ष लिङ्देनले नेपालको पनि यही नियती हुनसक्ने संकेत गरे । ‘बैंकमा पैसा छैन, बैंकले लगानी रोकेको छ, ठूला चेकहरु साटिन छोडेका छन्, ठूला आयोजनाहरुमा निकासा रोकिएको छ, बन्दै गरेका बाटा पुलहरु रोकिएका छन्, काम सकेर पनि ठेकेदारले पैसा पाउँन सकेको छैनन, यो सामान्य अवस्था हैन, हाम्रो देश गम्भीर मोडमा पुगेको छ, श्रीलंकाकै नियती भोग्नुपर्ने अवस्था हुनसक्छ,’ उनले भने ।

देशका लागि भनेर लिएको ऋण उत्पादनमुखी काममा नलगाई कार्यकर्ता पोस्ने र वितरणमुखी हिसावले खर्च गर्ने परिपाटी मौलाएकाले देश संकटमा पुगेको उनको ठम्याई छ ।

ठूला दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत गरेको उनले आरोप लगाए । भने, ‘देशमा रोजगारीको अवसर सृजना गरिनुपर्थ्यो, तर अहिले बिहे गरेको भोलिपल्ट श्रीमती र परिवार छोडेर एउटा युवा परिवार पाल्नकै लागि खाडी मुलुक पुग्नुपर्ने अवस्था छ, यो राम्रो संकेत हैन ।’

जनताले कांग्रेस, एमाले र माओवादीबाट मुलुक परिवर्तनको अपेक्षा गर्नु भ्रम मात्र भएको उनले बताए । ‘साँढेको टाङमुनी बाल्टी थाप्दैमा दुध आउँदैन,’ प्रमुख दलप्रति व्यङ्ग्य गर्दै लिङ्देनले भने, ‘दुध पाउँनका लागि कुन गाई हो र कुन साँढे हो भन्ने जनताले छुट्याउँनुपर्छ ।’

कार्यक्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाही, रेखा थापा लगायतले राप्रपा अहिले मुलुक परिवर्तनको अभियानमा जुटेको भन्दै राप्रपाबाटै मुलुकको परिवर्तन सम्भव हुँनेमा जोड दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!