- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा मंगलबारदेखि प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । होराइजन क्रिकेट क्लवको व्यवस्थापनमा विराटनगर महानगरपालिकाले बैजनाथपुर क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्याटिङ्ग गर्दै प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मेयर पराजुलीले अब हरेक बर्ष मेयर कप क्रिकेट सञ्चालन गर्ने गरी प्रतियोगिताको सुरुवात गरिएको बताए । खेलकुद क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको भन्दै उनले पछिल्लो समय विराटनगरमा खेलकुद गतिविधि बढ्दै गएको दावी गरे । प्रतियोगितामा जनकपुर उप–महानगरपालिका, इनरुवा नगरपालिका, विराटनगर महानगरपालिका, बीरगञ्ज महानगरपालिका, राजवीराज नगरपालिका र मेचीनगर नगरपालिका गरी ६ टिम सहभागि छन् ।

यसैबीच, पहिलो दिनको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् । पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेचीनगर नगरपालिकालाई ३६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल बनाएको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे ।

झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए । १ सय २३ रनको सामान्य लक्ष पाएको झापा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित भयो । झापाकालागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ रन बनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले १३ रन दिए । लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिएका छन् ।

दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनायो । राजविराजकालागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे ।

इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए । १ सय २१ रनको लक्ष पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सिमित भयो । इनरुवाकालागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५ विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।

बुधबारको पहिलो खेलमा विरगञ्ज र मेचीनगर तथा दोस्रो खेलमा इनरुवा र जनकपुरबीच प्रतिष्प्रधा हुँनेछ । छ दिनसम्म सञ्चालन हुँने प्रतियोगिताको बिजेताले १ लाख १ हजार र उप–विजेताले ५१ हजार नगद पुरस्कार पाउँने व्यवस्थापक होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेलले जानकारी दिए ।

 

तस्वीर: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!