ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ अप्रिल ३ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५९ मिनेट देखि १० बजेर ३३ मिनेट सम्म छ । आज चैत शुक्ल द्धितीया तिथी, मत्स्य जयन्ती व्रत ÷ मत्स्यनारायण मेला रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समस्या र चुनौतीलाई चिर्दै अघि बढ्ने समय हो, मानसिक संवेग, रिस र आवेगमा बृद्धि हुने भएकाले कार्यक्षेत्रमा संयमताका साथमा अघि बढ्नुपर्ने हुन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । विगतका कुनै चिन्ता र विवादका बारेमा नघोरिनु होला, अब नयाँ ढंगले व्यवहार गर्न सकेमा मात्र प्रेमभाव प्रगाढ बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भ्रमण, पर्यटन वा यात्राको योजना तैयार गर्ने वा लामो दूरीको यात्रामा निस्कने समय हो । आज खेलकूद र मनोरञ्जन पनि प्रिय विषय बन्नसक्छन् । सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाति हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । आर्थिक पाटो हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला, नत्र हिसाब नमिल्नाले तनाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुने दिन हो । आशावादी बनेर लक्ष्य निर्धारण गर्नुहोस्, हाँकेरताकेका काम पूरा गर्न सकिने छ । व्यक्तित्व विकासको प्रयास सफल हुनेछ । आज सञ्चित रकम जग्गाजमिन वा कुनै स्थिर सम्पत्तिको प्रयोजनमा खर्च गर्ने समय हो । तामेलीमा परेका कामको सम्पादन गरिने र नयाँ काम सुरु गर्ने समय छ । बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिकरसामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्ने तथा सहानुभूति प्राप्त गर्न सकिने छ । आज जोसुकै पाको व्यक्तिलाई गरेको सहयोगले भाग्यबृद्धि हुने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । कुनै अप्ठ्यारो र झञ्झटिलो काम छ वा ठूलै धनरकम लगानी गर्ने परिस्थिति छ भने धैर्य र संयम भई त्यसका कमजोरीका बारेमा चिन्तन गर्ने दिन हो । गोपनीयता बाहिरिनाले सामान्यतया तनाव हुनसक्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुनेछ । यद्यपि आज मौजमज्जा र आनन्दको तिर्सना जाग्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो । मन भावुक र प्रेमिल बन्ने वातावरण छ । समय निकालेर घरपरिवारमा सम्पर्क गर्नु र खैखबर बुझ्नु राम्रो हुन्छ । आम्दानीको पाटो राम्रो देखिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर बेलुकीपख आफन्त, घरपरिवार र सन्तानका निमित्त समय छुट्याउनु पर्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर व्यस्तताका बाबजुद जीवनसाथीको इच्छा र रुचिलाई पनि ध्यान दिने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम गर्दा गल्ती हुन्छ कि भनी सचेतता अपनाउनु होला, मनमा उत्पन्न शङ्का तथा डरका कारण बनिसकेको काममा पनि दुबिधा उत्पन्न हुनसक्छ । प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नुपर्ने हुन्छ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्, तर पनि आफ्नो साख राख्न सकिने दिन हो । स्वास्थ्यस्थितिमा देखिएको कमजोरीले प्रेमसम्बन्ध र रोमान्टिक जीवन प्रभावित बन्ने समय छ, परिस्थिति विपरीत भए पनि आत्मबल कायम राख्दा विभिन्न अवसर भने प्राप्त हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर पाउन सकिने छ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै प्रशासनिक काम वा आधिकारिक यात्रा स्थगित हुनसक्छ । नयाँ लगानी वा व्यापारविस्तारका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराश हुनुपर्छ, सचेत हुनुपर्छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, त्यस्तै आमाको आशीर्वाद लिन सके हरेक काममा सफल भइने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढी रहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग रहने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहने छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउन सकिन्छ र विशेष अवसर प्राप्त हुनसक्छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । बोलीमा सामथ्र्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!