- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरमा शुक्रबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा बृहत व्यापार मेला सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एक्स्पो उद्घाटन गरेका छन् ।

प्रदेश १ का अधिकांस उद्योगी व्यावसायीको सहभागितामा सुरु भएको एक्स्पो चैत २६ गतेसम्म सञ्चालन हुँने आयोजकले जनाएको छ । नौं दिनसम्म सञ्चालन हुँने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान र वंगलादेशका उत्पादनहरु विक्रि वितरण र प्रदर्शनीका लागि राखिएको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

एक्स्पोमा २७० स्टल राखिएको छ । जसमा एसी जडित ८० र कुलरयुक्त ६० स्टल छन् । त्यस्तै, १०६ वटा साधारण स्टल र अन्य बिभिन्न प्रकारका स्टल राखिएको छ । एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, अटोमोवाइल्स, बालउद्यान र खानाका परिकारका स्टलहरु राखिएका छन् । पहाडी जिल्लाका उत्पादनहरुको प्रवद्र्धनका लागि ४० स्टल छुट्याइएको एक्स्पोका संयोजक विकास वेगवानीले बताए ।

करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोमा ४५ करोड बराबरको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य छ । एक्स्पोमा दर्शकलाई आकर्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित लण्डन ब्रीज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल लगायतको नमुना संरचना निर्माण गरिएको छ । जिपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायत साहसिक खेलको व्यवस्था पनि मिलाइएको छ । फोटो प्रेमीहरुका लागि सेल्फी जोनको व्यवस्था गरिएको छ ।

 

दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम हुँनेछ । एक्स्पोमा एक सय रुपैयाँ प्रवेश शुल्क तोकेको आयोजकले विद्यार्थीहरुका लागि भने छुटको व्यवस्था गरेको छ । यसअघि गत बर्ष मोरङ व्यापार संघले सोही स्थानमा ‘विराट एक्स्पो’ आयोजना गरेको थियो ।

विराटनगर विमानस्थलका लागि मुआब्जा दिन सकिदैन: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल विस्तार र स्तरोन्नतीका लागि सरकारले जग्गाको मुआब्जा दिन नसक्ने बताएका छन् । विराटनगरमा शुक्रबार विराट ट्रेड एक्स्पो उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

‘विमानस्थलका लागि राज्यले १६ अर्ब दिनसक्ने अवस्था छैन,’ मन्त्री आलेले भने, ‘तपाईंहरुले जग्गाको व्यवस्थापन मिलाउनुहोस् । वैदेशिक लगानी भित्र्याएर होस् वा जुनसुकै मोडलमा भएपनि बजेटको व्यवस्थापन गरेर विमानस्थल बनाउँने कुरामा अघि बढ्नुपर्छ ।’ विराटनगर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारबीचको साझेदारीमा विमानस्थल स्तरोन्नती प्रकृया थालिएको थियो । तीन तहका सरकारबीचको साझेदारीमा निर्माण गर्ने सम्झौतापछि विस्तार क्षेत्र भित्रका जग्गाधनीलाई मुआब्जा दिन सूचना पनि जारी गरिएको थियो ।

तर, मन्त्री आलेको यो भनाइसँगै विमानस्थल स्तरोन्नती प्रकृया तत्काल अघि नबढ्ने देखिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्ने भन्दै मन्त्री आलेलाई दवाव दिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मन्त्री आलेकै पालामा विमानस्थल निर्माणको ठेक्का आव्हान भएको र पछि रद्ध हुँदा दुःख लागेको प्रतिक्रिया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!