- संगालोखबर सम्वाददाता


धनकुटा । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को १ नम्बर प्रदेश कमिटी बैठकले प्रदेश १ मा स्थानीय तह निर्वाचन बहिष्कार अभियान चलाउँने निर्णय गरेको छ । धनकुटाको पाख्रीवासमा बुधबार सम्पन्न बैठकले १ नम्बर प्रदेशका १४ वटै जिल्लामा स्थानीय चुनाव बहिष्कार गर्नका लागि शसक्त अभियान चलाउँने निर्णय गरेको हो ।

चुनाव बहिष्कारका लागि प्रदेशभर अभियान चलाउँने, चुनाव विरोधी पर्चा पम्प्लेट वितरण गर्ने, जनतालाई ‘नो भोट’ को पक्षमा लाग्न आग्रह गर्नेसहितका गतिविधि गरिने नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश कमिटी सदस्य राजेन्द्र बस्नेत (अबिरल) ले जानकारी दिए । ‘यो संसदीय व्यवस्थाले मूलुकलाई सहि दिसामा अघि बढाउँदैन भन्ने हाम्रो ठहर छ, त्यसैले यस्तो चुनाव गर्नुको कुनै तुक छैन,’ बस्नेतले संगालोखबरसँग भने, ‘हामीले चुनाव बहिष्कारका लागि प्रदेशभर शान्तिपूर्ण रुपमा अभियान चलाउँने निर्णय गरेका छौं ।’

पाख्रीवासमा दुई दिनसम्म बैठक चलेको थियो । बैठकमा पार्टीका स्थायी कमिटी सदस्य हरिभक्त कँडेल (प्रतिक) सहित प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु सहभागि थिए । बैठकपछि उनीहरुले पाख्रीवासमा चुनाव विरोधी पम्प्लेट पनि प्रदर्शन गरेका छन् । ‘कथित स्थानीय निर्वाचन बहिष्कार गरौं, निर्वाचन जात्रा हो, भ्रष्टहरुको नविकरण मात्र हो, दलाल संसदीय व्यवस्था मुर्दावाद, संघीय जनगणतन्त्र जिन्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको हो ।

उनीहरुले ‘एमसीसी फिर्ता गर’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका छन् । एमसीसी पास हुुनु अघि सो पार्टीले एमसीसी फिर्ता गर्न माग गर्दै विरोधस्वरुप धनकुटा बजार र पाख्रीवास बजारमा मसाल जुलुश पनि प्रदर्शन गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!