- रबिन कटेल/संगालोखबर

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले चालू हिउँदे अधिवेशनबाटै प्रदेशको नामाकरण गर्ने उद्घोष गरेका थिए । तर, नामाकरणको बिषय थाति राख्दै हिउँदे अधिवेशन आइतवार अन्त्य गरियो । प्रदेश प्रमुख परशुराम खापुङ्गका अनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिस बमोजिम संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरिएको हो ।

Advertisement

अधिवेशन अन्त्य भएसँगै प्रदेशको नामाकरण चालू अधिवेशनमै गर्ने मुख्यमन्त्रीको बाचा पनि अधुरो बनेको छ । मुख्यमन्त्री राईको उद्घोषसँगै प्रदेशले अब नाम पाउँनेमा प्रदेशवासी आशावादी थिए । तर, बाचा पुरा नभएपछि प्रदेशको नामाकरणको बिषयमा थप अन्यौलता बढेको छ । अब, वर्तमान सरकारले प्रदेशको नामाकरण गर्न सक्ला या नसक्ला भन्नेमै प्रश्न उब्जिएको छ । आइतवारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेसम्बद्ध प्रदेश सभा सदस्य वसन्तीदेवी यादवले प्रदेशको नामाकरण गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरिन् । उनले वर्तमान सरकारले नामाकरण गर्ने बिषयमा इख राखेर काम नगरको टिप्पणी गरिन् । ‘पहिलेका मुख्मन्त्रीलाई सरकारले के गर्दैछ, कानमा तेल हालेर सुतेको छ कि किन नाम राख्न सकेन भनेर भनिन्थ्यो,’ यादवले भनिन्, ‘हामी त्यो ठाउँमा गएपछि पहिला नामाकरण नै गछौं भनेर यो सरकारले इख राख्नुपर्ने थियो, तर त्यसो गरेन ।’

नेपालको संविधानले प्रदेशहरूको नाम सम्बन्धित प्रदेश सभाको दुई तिहाइ मतले टुङ्गो लगाउने व्यवस्था गरेको छ । सोही अनुसार २०७६ बैशाख २३ गते प्रदेशको राजधानी विराटनगर तोकियो । तर, एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषय टुङ्गो लाग्न नसक्दा चार वर्षसम्म प्रदेशको नामाकरण हुँन सकेको छैन । प्रदेशको नामाकरणका बिषयमा छलफल र समन्वयका लागि सरकारले स्वास्थ्य मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको छ । त्यसपछि केही छलफल पनि चले । तर, निष्कर्षमा नपुग्दा नामाकरणको बिषय अन्यौल भएको हो ।

नेकपा एमाले, कांग्रेससहितका मुख्य दलले प्रदेशको नाम के राख्ने भन्ने बिषयमा निर्णय लिन नसक्दा नामाकरणको बिषय थाति राख्दै हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको स्वास्थ्यमन्त्री यादव बताउँछन् । ‘सरकारले मलाई जिम्मेवारी दिएपछि धेरैपटक छलफल गर्यौं, मुख्य दलले निर्णय लिन नसक्दा समस्या भयो,’ मन्त्री यादव भन्छन्, ‘अधिवेशन अन्त्य भएपनि नामाकरणका लागि छलफल र बहसलाई जारी राख्छौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!