रबिन कटेल/संगालोखबर

धनकुटा । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले आज पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो । एमाले नेताहरुले चार दलीय गठबन्धनलाई देखावटी र ‘भुसुनाको झुण्ड’ को संज्ञा पनि दिएका छन् ।

Advertisement

धनकुटामा सात पालिका र ६० वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले सात वटै पालिका र ४३ वडा जितेको थियो । माओवादीबाट बिजयी भएका दुई वडाध्यक्ष पनि एमालेमै आएका छन् । अहिले सात वटै पालिकाका प्रमुख र उपप्रमुखसहित ४५ वडाका वडाध्यक्ष एमालेकै छन् । गत निर्वाचनमा जिल्लाभर निर्वाचित कुल जनप्रतिनिधि मध्ये ८५.५३ प्रतिशत पदमा आफ्ना उम्मेद्वार बिजयी गराई वाँकी सबै दललाई १४.४७ प्रतिशतमा सिमित गराउँन सफल भएको एमालेले आगामी निर्वाचनमा अझ बढी जित निकाल्ने दावी गरेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेर धनकुटाका सवै पालिका र वडाहरुमा साझा उम्मेद्वार उठाउँने घोषणा गरिसकेका छन् । तर, त्यो गठबन्धनको कुनै अर्थ नरहेको एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र राईले बताए । ‘चार दल एक भएर चुनावी तालमेल गर्ने भनेको सुन्यौं, भुसुनाहरुको झुण्डले एमालेलाई केही फरक पार्दैन,’ नेता राईले भने, ‘हामीले जनताको पक्षमा काम गरिरहेका छौं, पदका लागि भुसुनाहरु एक भएर केही हुनेवाला छैन, उनीहरुले जनताको भोट पाउँदैनन, धनकुटेली जनता एमालेको पक्षमा छन्, एमालेलाई जिताउँछन् ।’

चार दलले घोषणा गरेको गठबन्धन देखावटी मात्र रहेको नेता राईको तर्क छ । गठबन्धन भत्किसकेको उनी बताउँछन् । भन्छन्, ‘गठबन्धनमै भएको दल माओवादीका नेताहरुले चौविसे, छथर र सहिदभूमिमा तीन वटा उपाध्यक्ष दिनुहोस् भनेर हामीलाई भनिरहनुभएको छ, हामी यो बिषयमा छलफल गरिरहेका छौं, अनि कसरी गठबन्धन भन्न मिल्छ, यो देखावटी मात्र हो ।’ अहिले धनकुटाको गरिबी दर ७.५ प्रतिशतले घटेको भन्दै उनले एमालेले जितेपछि धनकुटाको विकासले फड्को मारेको र धनकुटेली जनता समृद्धि उन्मूख हुँदै गएको तर्क गरे । उनले गठबन्धन सरकारले धनकुटाको बजेट कटौति गरेर जनतामाथि घात गरेको आरोप पनि लगाए । जिल्लाका बिभिन्न ठाउँको विकासका लागि आएको बजेट कटौति भएको उदाहरण दिदैं उनले जनतासँग के दुस्मनि थियो र बजेट काटियो भन्दै गठबन्धनका नेताहरुलाई प्रश्न पनि गरे ।

एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले अहिलेको प्रारम्भिक सर्वेक्षण अनुसार धनकुटामा अरु सबै दलले गठबन्धन गरेपनि एमाले एक्लै भिडेर सातै पालिका र ६० वटै वडा जित्न सक्ने अवस्था रहेको बताए । सातै पालिका र ६० मध्ये ५२ वडा सजिलै जित्ने उनको दावी छ । ८ वटा वडामा प्रतिष्प्रधा हुनसक्ने उनको अनुमान छ । ‘अरुको गठबन्धन भएपनि सातै पालिका एमालेले जित्छ, केही पालिकामा निकै फराकिलो मतान्तरले जित्छौं । ५२ वडा सजिलै जित्ने आधारसीला छ,’ अध्यक्ष पराजुलीले भने, ‘आठ वडामा प्रतिष्प्रधा छ, प्राविधिक कारणले केही वडा तलमाथि भयो भने वेग्लै कुरा नभए ६० वटै वडा एमालेले जित्ने आधार छ ।’

जनतामाझ लोकप्रिय व्यक्तिलाई एमालेले उम्मेद्वार बनाउँने उनले बताए । कतिपय पालिकामा अहिलेकै जनप्रतिनिधिलाई नै पुनः उम्मेद्वार बनाइने उनको भनाई छ । एमालेले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव भिड्ने अध्यक्ष पराजुलीले स्पष्ट पारे । तर, माओवादीबाट केही पालिकामा सहकार्यको कुरा आइरहेकाले उनीहरुलाई सूर्य चिन्हबाटै चुनावमा सहभागि गराउँन सकिन्छ की भन्ने बिषयमा छलफल भइरहेको जानकारी दिए ।

फरक प्रशंगमा उनले धनकुटामा एमालेका कुनैपनि जनप्रतिनिधिले भ्रष्ट्राचार नगरेको दावी गर्दै आरोप लगाउँनेहरुलाई प्रमाण लिएर आउँन चुनौति पनि दिए । ‘धनकुटामा एमालेका कुनैपनि जनप्रतिनिधिले भ्रष्ट्राचार गरेका छैनन् । यदि कसैले गरेको छ भने प्रमाण ल्याउँनुहोस्,’ आरोप लगाउँनेहरुलाई चुनौति दिदैं अध्यक्ष पराजुलीले भने, ‘विना आधार आरोप लगाएर मानमर्दन गर्ने छुट कसैलाई छैन, ख्याल गर्नुस् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!