- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको लेटाङमा लगाइएको कर्फ्यू तीन दिनपछि बिहिबार बिहानबाट हटाइएको छ । शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ७ बजेबाट लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो ।

Advertisement

दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ–६ को वडा कार्यालय, पूर्वमा मोरङे खोला, पश्चिममा चिसाङ खोलासहित लेटाङ वडा नं.५ को सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो । तर, जनजीवन सामान्य बन्दै गएपछि बिहिबार बिहान ६ बजेबाट कफ्र्यू हटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । ‘घटनापछि लेटाङमा सर्वपक्षिय बैठक बसेर सहजिकरण गरियो, अहिले त्यहाँको माहोल सामान्य छ,’ प्रजिअ दाहालले भने, ‘स्थिती सामान्य बनेको र थप जोखिम नदेखिएकाले कर्फ्यू हटाइएको छ ।’

शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा एक महिला प्रहरीको मृत्यु हुँनुका साथै जिल्ला प्रहरी कार्यालय मोरङका एस्पी जनार्दन जिसीसहित ३६ जना घाइते भएका थिए । घाइतेहरु सबै जना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले सोही विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयबासी आक्रोशित बनेर आक्रमणमा उत्रिदा स्थिती तनाबपूर्ण बनेको थियो ।

शिक्षक पौडेललाई प्रहरीले नभई गाउँलेबाटै कालोमसो दलेर जुत्ताको माला लगाई बजार घुमाउँने भन्दै स्थानीयबासी आक्रोशित बनेर तोडफोड, आगजनी र आक्रमणमा उत्रिएका थिए । घटनापछि पक्राउ गरेर ल्याइएका शिक्षक पौडेल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । पौडेललाई हिरासतमा राखेर घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई कडा कारबाही गर्नुपर्ने स्थानीयबासीको माग छ । पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै विराटनगरमा विद्यार्थीले प्रदर्शन पनि गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!