रबिन कटेल/संगालोखबर

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । मृतक महिला प्रहरीलाई न्याय र यौंन हिंसामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

Advertisement

उनीहरुले मृतक महिला प्रहरीको फोटोसहित प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । महेन्द्र मोरङ क्याम्पसमा भेला भएर निश्किएका विद्यार्थीहरुले नारा जुलुशसहित महेन्द्र चौक, गुद्री, ट्राफिक चौक लगायत क्षेत्रको परिक्रमा गरेका छन् । ‘मृतक महिला प्रहरीलाई न्याय दे, बलात्कारीलाई फासी दे’ जस्ता नारा लगाउँदै उनीहरुले बजारमा प्रदर्शन गरेका हुन् ।

बजार परिक्रमा पश्चात महेन्द्र चौकमा भेला भएर उनीहरुले कोणसभा गरेका छन् । सभालाई संवोधन गर्दै अनेरास्ववियू महेन्द्र मोरङका पूर्व अध्यक्ष जोसेफ घिमिरे र वर्तमान उपाध्यक्ष आरोग्य थापाले पीडित वालिकामाथि यौन हिंसा गर्ने शिक्षकलाई पक्राउ गर्न गएकी महिला प्रहरीको हत्या गरिनु दुखद भएको बताए । उनीहरुले महिला प्रहरीको हत्यामा संलग्न व्यक्ति र वालिकामाथि यौन दुर्ब्यवहार गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेका छन् ।

लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा प्रदेश प्रहरी गणमा कार्यरत उदयपुरकी २६ बर्षीय महिला प्रहरी श्रेष्ठको मृत्यु भएको हो । घटनामा परी मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित ३६ जना घाइते भएका थिए । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले सोही विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुर्ब्यवहार गरेको घटना सार्वजनिक भएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।

शिक्षक पौडेललाई प्रहरीले नभई गाउँलेबाटै कारबाही गर्ने भन्दै तोडफोड, आगजनी र आक्रमणमा उत्रिएको समूह र प्रहरीबीच झडप भएको हो । घटनाले उग्ररुप लिएपछि प्रशासनले लेटाङमा सोमबार विहानबाट अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!