संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई उनका सहकर्मीहरुले सोमबार अपरान्ह विराटनगरको कोशी अस्पतालमा शोक सालामी दिदैं अन्तिम विदाई गरेका छन् । उदयपुर घर भएकी २६ बर्षीय उर्मिलाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि लैजानु अघि प्रहरी टोलीले कोशी अस्पतालमा शोक सलामी दिएको हो ।

Advertisement

पोष्टमार्टमपछि कोशी अस्पताल परिषरमा उर्मिलाको पार्थिव शरीर राखिएको थियो । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले उनको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । प्रमुख जिल्ला अधिकारी कासीनाथ दाहाल, डिआइजी बिसी, जिल्ला प्रहरी प्रमुख एस्पी जनार्दन जिसीसहित उच्चपदस्त प्रहरीहरुले पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जली दिने क्रममा धेरैले मन थाम्न सकेनन् । आफन्तहरु डाकोछोडेर रोए । धेरैजसो सहकर्मी प्रहरीहरुका पनि आँखामा आँसु छचल्किए । श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहदा कोशी अस्पताल परिषरको माहोल स्तब्ध थियो । विरामीका कुरुवाहरु पनि उर्मिलाको विदाइमा स्तब्ध बने ।

मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार साँझ झडप हुँदा उर्मिलाको ज्यान गएको हो । यौन दुब्र्यबहार आरोपितलाई पक्राउ गर्न गएकी उर्मिला आक्रोशित भीडको निसानीमा पर्दा सधैका लागि विदा भइन् । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि विराटनगरबाट सोमबार अपरान्ह उदयपुरतर्फ लगिएको छ ।

तस्वीर: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!