- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् ।

संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी पनि गरिएको नेविसंघ क्याम्पस इकाइका सचिव सुवास खनालले जानकारी दिए । ‘हामीले विद्यार्थीहरुका पक्षमा मागहरु राखेर क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका थियौं,’ सचिव खनालले संगालोखबरसँग भने, ‘क्याम्पसले माग सुनुवाई गर्न वेवास्ता गरेपछि यस्तो परिस्थिती बन्यो ।’

स्वास्थ्य बीमाका नाममा क्याम्पसले लिदै आएको ५ सय शुल्कलाई सोही प्रयोजनमा प्रयोग गरिनुपर्ने, क्याम्पसका हरेक संकायमा पोशाकका रुपमा सुट अनिवार्य गर्न नहुँने, पुस्तकालयमा पर्याप्य पुस्तकको व्यवस्था गर्नुपर्ने लगायत ७ वुँदे माग राख्दै नेविसंघले गत फागुन २२ गते क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो । माग संवोधन गर्न आइतवारसम्मका लागि नेविसंघले क्याम्पस प्रशासनलाई अल्टिमेटम पनि दिएको थियो ।

यता, क्याम्पस प्रमुख बस्नेतले भने विद्यार्थीहरुले सामान्य विषयमा क्याम्पसभित्र हिंसात्मक गतिविधि गरेको भन्दै भत्सना गरेका छन् । क्याम्पसले विद्यार्थीहरुका माग क्रमिक रुपमा पुरा गर्ने तयारी गरिरहेका बेला विद्यार्थीहरु आक्रोशित भई हिंसात्मक गतिविधि गर्नु गलत भएको उनको तर्क छ । क्याम्पसमा हिंसात्मक गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने उनले चेतावनी पनि दिएका छन् ।

यस्तो छ नेविसंघले यसअघि बुझाएको मागपत्र

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!