धनकुटा । आगामी बैशाखमा हुँन लागेको स्थानीय तह निर्वाचनमा धनकुटाका चार दलले चुनावी तालमेल गर्ने भएका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले साझा उम्मेद्वार उठाएर चुनावमा एमालेसँग प्रतिष्पर्धा गर्ने भएका हुन् ।
चार दलले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर चुनावी तालमेल गरिने जानकारी दिएका हुन् । जिल्लाका सबै पालिका र वडा तहमा चार दलबाट एक जना मात्र साझा उम्मेद्वार उठाइने उनीहरुको भनाई छ । निर्वाचनमा नेकपा एमालेलाई हराउन ४ दलले साझा उम्मेद्वार उठाउँने कांग्रेस जिल्ला सभापति दिनेश राईले बताए । केन्द्रिय निर्देशन भन्दा पनि जिल्ला तहमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको दलहरुले जनाएका छन् ।
गत स्थानीय तह निर्वाचनमा धनकुटाका ७ वटै पालिकामा एमालेले बिजय हासिल गरेको थियो । सात वटै पालिकामा एमालेकै प्रमुख र उपप्रमुख छन् । ६० वडा मध्ये ४३ वडा एमालेले जितेको छ । कांग्रेसले ९ वडा, नेकपा माओवादी केन्द्रले ५ वडा र संघीय समाजवादीले ३ वडामा बिजय हासिल गरेको थियो ।
धनकुटामा नेकपा एमाले सबैभन्दा ठूलो र शक्तिशाली दलका रुपमा रहेकाले चार दल मिलेर एमालेसँग प्रतिष्पर्धा गर्न लागेका हुन् ।