रबिन कटेल/संगालोखबर

विराटनगर । शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि मोरङको लेटाङमा सोमबार विहानबाट कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

Advertisement

दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ–६ को वडा कार्यालय, पूर्वमा मोरङे खोला, पश्चिममा चिसाङ खोलासहित लेटाङ वडा नं.५ को सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले सोही विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुब्र्यवहार गरेको घटना बाहिरिएपछि आक्रोशित समूह आगजनी, तोडफोड र ढुंगामुडा प्रहारमा उत्रिएपछि आइतवार दिउँसोदेखिनै स्थिती तनाबपूर्ण बनेको हो ।

आरोपित शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरी कार्यालय लैजान खोज्दा आक्रोशित समूहले रोकेर उनलाई कालोमसो र जुत्ताको माला लगाई बजार घुमाउँन खोज्यो । तर, प्रहरीले थप अप्रिय घटना हुन नदिनका लागि रोक्दा दिनभर स्थिती तनाबपूर्ण बन्यो । आक्रोशित स्थानीयले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकल जलाए । उनीहरुले विद्यालयमा पनि ढुंगामुडा गरेका छन् । प्रहरीले शिक्षकलाई बचाउँन खोजेको भन्दै आक्रोशित स्थानीयबासी प्रहरीमाथि नै खनिए । दिनभर पटक–पटक झडप भयो ।

अन्ततः साँझ प्रहरीले बल प्रयोग गरेर शिक्षण पौडेललाई लैजान खोज्दा स्थिती थप तनाबपूर्ण भएको हो । सोही क्रममा स्थानीयको आक्रमणमा परी प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । उनीमाथि छुरा प्रहार भएको छ । झडपमा परी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित दर्जनौं घाइते भएका छन् । विराटनगरका बिभिन्न अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

घटनाले उग्ररुप लिएर लेटाङ क्षेत्र तनाबपूर्ण बनेकाले स्थिती नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गर्नुपरेको प्रशासनले जनाएको छ । कर्फ्यू आदेश जारी गरिएको क्षेत्रमा अत्यावश्यक काममा बाहेक मानिसहरु आवतजावत र भेला हुँन प्रतिवन्ध लगाइएको छ । ‘उक्त घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवा बाहेक मानिस आवतजावत, भेला गर्न नपाउँने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जारी गरेको कर्फ्यू आदेशमा भनिएको छ, ‘यो आदेशको बर्खिलाप भएमा कानून बमोजिम कडा कारबाही हुँनेछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!