रबिन कटेल/संगालोखबर

विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार साँझ झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

घटनामा परी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित दर्जन बढी व्यक्ति घाइते भएको बताइएको छ । रातीको समयमा घटना भएकाले घाइतेको विवरण यकिन हुन वाँकी छ । प्रहरी स्रोतका अनुसार करिब नौं जना प्रहरी र केही स्थानीयबासी घाइते भएका छन् । केही घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले सोही विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुब्र्यवहार गरेको आरोप छ । लेटाङ नगरपालिका–३ घर भएका पौडेल निमावि तहको सामाजिक बिषयका शिक्षक हुन् । गत शुक्रबार होलीको विदाका दिन ती छात्राको घरमै पुगेर शिक्षक पौडेलले उनीमाथि दुब्र्यवहार गरेको बिषय सार्वजनिक भएपछि आक्रोशित विद्यार्थी र पीडित पक्षले शिक्षक पौडेललाई आक्रमण प्रयास गर्यो । प्रहरीका अनुसार शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरी कार्यालय लैजान खोज्दा आक्रोशित समूहले रोकेर उनलाई कालोमसो र जुत्ताको माला लगाई बजार घुमाउँन खोज्यो । तर, प्रहरीले थप अप्रिय घटना हुन नदिनका लागि रोक्दा दिनभर स्थिती तनाबपूर्ण बन्यो ।

आक्रोशित स्थानीयले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकल जलाएका छन् । उनीहरुले विद्यालयमा पनि ढुंगामुडा गरेका छन् । प्रहरीले शिक्षकलाई बचाउँन खोजेको भन्दै आक्रोशित स्थानीयबासी प्रहरीमाथि नै खनिए । दिनभर पटक–पटक झडप भयो । अन्ततः साँझ प्रहरीले बल प्रयोग गरेर शिक्षण पौडेललाई लैजान खोज्दा स्थिती थप तनाबपूर्ण भएको हो । सोही क्रममा स्थानीयको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले पुष्टि गरे । मृतकको शवलाई अहिले कोशी अस्पतालमा राखिएको छ । उनको घाँटीमा छुरा प्रहार भएको छ ।

झपडका क्रममा स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले हवाई फायर पनि गरेको बताइएको छ । रातीको समयमा झडप भएकाले दुवै पक्षका के–कति व्यक्ति घाइते भए यकिन भएको छैन । केही घाइतेहरुलाई उपचारका लागि कोशी अस्पतालमा ल्याइएको छ । घटनापछि स्थिती नियन्त्रणमा लिन सो क्षेत्रमा राती नै प्रहरी तैनाथी बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!