ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ६ गते आइतवार ई.सं.२०२२ मार्च २० नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, धु्रव योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः७ बजे, सूर्यास्त साँझ ६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ९ मिनेट देखि १० बजेर ४० मिनेट सम्म छ । आज चैत कृष्ण द्धितीया रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रूपसौन्दर्य र साजसज्जाप्रति झुकाव बढ्ने दिन हो । बोलीमा विशेष मिठास घोलिएको हुँदा कसैलाई फकाएर काम गराउनु छ भने प्रयास गर्नुहोला । मिहिनेतले पदीय जिम्मेवारी दिलाउने छ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
देखिएका बाधारअड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । व्यापारिक दृष्टिकोणले राम्रो समय छ । गरेको मिहिनेतले सार्थक परिणाम प्रदान गर्नेछ । प्रभाव र प्रभुत्व बढ्ने समय छ, तर रिस, आवेग र शीघ्रतामाथि बन्देज लगाउनु बेस हुन्छ । दैनिक कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाति हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । प्रतिस्पद्र्धा वा परीक्षामा सफल भइने छ, केही नयाँ कुरा सिक्नु छ, वा सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने दिन हो । थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन एकतमासको र भावुक बन्ने दिन हो, अन्तरंग साथीसँग इच्छानुसार कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता मिल्दैन । घरिघरि मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । आफ्ना लागि भन्दा पनि अर्काको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित नभएमा घरव्यवहारका समस्या सुल्झाउने प्रयास गर्नुहोस्, केही न केही लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ । सामाजिक वा साङ्गठनिक कामका कारण नियमित कामधन्दामा असर पर्ने समय छ । दीर्घ प्रयोजनका लागि सम्पत्ति जोड्ने विचार छ भने आजको प्रयास र मिहिनेतबाट लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने आज आत्मविश्वास बढ्नेछ, प्रयास गर्नुहोस् सफलता तपाईंको मुट्ठीमा हुनेछ । धनप्राप्तिको राम्रो योग छ, अनि नयाँ उद्यम र परियोजनामा रकम लगानी हुनसक्ने समय पनि हो । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा हाकिमलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी राख्नु हानिकारक बन्नसक्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम सजिलै सम्पन्न गरी भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जालीझेली र फटाहाहरूसँग सङ्गत हुनसक्छ, जुनसुकै काममा सावधान र सचेत रहनु पर्छ, धनको मामिलामा कसैले फँसाउने चेष्टासमेत गर्न सक्छन् । महत्त्वाकांक्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कर्मप्रति समर्पित हुने र थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । हुनसक्छ, सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रूचिअनुसार व्यवहार गर्ने समय छ । कुनै व्यवहारिक वा प्राविधिक क्षेत्रको थप ज्ञान बटुल्ने मौका जुट्नेछ । परिश्रम गर्ने छात्रछात्राले अझ राम्रो परिणाम प्राप्त गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । अर्काको सहयोग गर्न पाउँदा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउन सक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाति हुन्छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ, तर मनको कुरो साथीले नबुझिदिंदा वैचारिक मतभेद हुनसक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!