रबिन कटेल/संगालोखबर
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कारबाही गरेर राखिएका मोटरसाइकल तथा स्कुटरहरु । तस्वीर: संगालोखबर

विराटनगर । प्रदेश १ मा होलीको दिन शुक्रबार ट्राफिक नियम उल्लंघन गर्ने सात सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । सुनसरी, मोरङ, झापा र उदयपुरमा होली मनाउँने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ५ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । मोरङमा २७२, झापामा २३१, सुनसरीमा १८३ र उदयपुरमा १९ सवारी साधनलाई कारबाही गरिएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाही पर्नेमा मोटरसाइकल, स्कुटर, कार, जिप, भेन, सिटी सफारी र अटो छन् । सवारी चालक अनुमति पत्र नभई गाडी कुदाउँने, माधक पदार्थ सेवन गरेर सवारी कुदाउँने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, तिब्र गतिमा सवारी हुइक्याउँने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् ।

Advertisement

जसमध्ये सबैभन्दा बढी ६८३ वटा मोटरसाइकल र स्कूटर कारबाहीमा परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । ‘ट्राफिक नियम उल्लंघन गरी कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन्,’ एसपी खतिवडाले भने, ‘धेरैले माधक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारवाहीमा परेका छन् ।’

ट्राफिक प्रहरीका अुनसार नियम उल्लंघन गर्ने सवारी साधनलाई दिनभर ‘होल्ड’ गरेर राखिएको छ । उनीहरुले गरेको नियम उल्लंघनको प्रकृति हेरी जरिवाना तिराइएको छ । कतिपय सवारी साधनलाई कागजपत्र राखेर छोडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच, होलीको दिन शुक्रबार प्रदेश १ मा सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् । मोरङमा दुई जना र सुनसरीमा एक जनाको दुर्घटनामा परी मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी २९ जना घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!