संगालोखबर सम्बाददाता

विराटनगर । इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवर प्रदेश १ को उत्कृष्ट प्रहरी घोषित भएका छन् । धरानको जंगलमा झोलाभित्र भेटिएको शवको टुक्राहरुबाट मृतकको पहिचान गरी हत्यामा संलग्न आरोपित पक्राउ गर्न सफल डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

Advertisement

गत फागुन ४ गते धरान उपमहानगरपालिका–४ स्थित जंगलमा झोलाभित्र मान्छेको टाउको र देव्रे खुट्टा भेटिएको थियो । त्यसको भोलिपल्ट केही पर पुनः अर्को खुट्टा र जिउ भेटियो । शरीरका अंगहरु सड्न लागेको हुँनाले मृतकको पहिचानमा समस्या भएको थियो । तर, डिएसपी कुँवर नेतृत्वको प्रहरी टोलीले सुछ्म अनुसन्धान गरी मृतकको पहिचान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्यो । मृतक झापाको दमक नगरपालिका–५ का ४३ बर्षीय दिनेश सिग्देल रहेको पत्ता लाग्यो ।

सिग्देललाई उनकै कान्छी श्रीमती ३० बर्षीया अनिता केशी र उनका प्रेमी २९ बर्षीय सरोज भण्डारी मिलेर हत्या गरी शरीर टुक्रा–टुक्रा पारेर फालिएको अनुसन्धानबाट पत्ता लाग्यो । डिएसपी कुँवर नेतृत्वको प्रहरी टोलीले हत्यामा संलग्न दुवै जनालाई पक्राउ गरेर फागुन १० गते सार्वजनिक गरेको थियो । प्रदेश १ मा चर्चा र महत्वका साथ हेरिएको यो घटनाको अनुसन्धानमा सफलता हासिल गरेका डिएसपी कुँवरलाई प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट घोषित गरेको हो ।

डिएसपी कुँवरले यो घटनासहित अन्य आपराधिक गतिविधि नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई उत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएकाले यहाँलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको छ,’ डिएसपी कुँवरलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ ।

डिएसपी कुँवरले आम नागरिकमा सुरक्षाको अनुभूति हुँने गरी प्रहरीको छवि उच्च बनाउँने काम गरेको प्रहरी संगठनको ठहर छ । प्रदेश प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने एक/एक जनालाई उत्कृष्ट प्रहरी घोषित गरेर सम्मान गर्दै आएको छ । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कामको विवरणसहितको फ्लेक्स प्रिन्ट प्रदेश प्रहरी कार्यालयसहित प्रदेश भरका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राख्ने गरिएको छ ।

राम्रो काम गर्नेहरुको मनोवल उच्च बनाई प्रोत्साहन गर्न उत्कृष्ट प्रहरी घोषणा गर्ने गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!