ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मार्च १७ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ७ बजेर ४१ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल चतुर्दशी, फागु पूर्णिमा (पहाडी जिल्ला), पूर्णिमा व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी प्राप्त हुने दिन छ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाएर काम गर्नुपर्ने हुन्छ । सेवाग्राहीसँगको विवादले कारोबारमा बाधा पुग्न सक्छ, तर बुद्धिको उपयोगले लक्ष्यमा पुग्न मद्दत पुग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । लाभदायक यात्राको योग छ, यद्यपि बास बस्ने गरी टाढा जाँदा असहजताको अनुभूति हुनेछ, मनमा चिन्ता, शङ्का वा असन्तुष्टि देखा पर्न सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचारविमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने तथा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने राम्रो समय छ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जलवायु परिवर्तनले स्वास्थ्यमा सामान्य प्रभाव पार्ने समय छ । धनबृद्धिका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । आज नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा व्यापार प्रभावित हुने दिन हो । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पेसा वा व्यवसायमा देखिएका असजिलो फुकाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेको गतिविधिमा नजर लाउनु बेस हुन्छ, शत्रु नजिकै छन् भन्ने बुझेर काम गर्ने दिन हो । लामो समयदेखि बनाउन नसकेको काम बनाउन सकिने समय हो । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै बढ्नसक्छ । इच्छानुसार काम सम्पन्न हुनेछ, कतै घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेकोरनजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । ठूलाबडा व्यक्तिसित भेटघाट हुने वा नवीन परिचय प्राप्त हुने दिन छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । नयाँ ढंगले कारोबारमा सुधार गर्न योजना बनाउने दिन हो, कुनै पेसामा आबद्ध हुनुहुन्छ भने पदोन्नति हुने वा चाहेको परिणाम हात पार्न सकिने छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्धमा भने निरसता देखिन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
ख्याति र प्रतिष्ठा बढाउन प्रयास गर्ने समय हो, पिता वा पितातुल्य व्यक्तिको सुझावलाई मानेमा थोरै मात्र प्रयास गरेर आम्दानीका मार्गलाई गति प्रदान गर्न सकिने छ । धनधान्य बृद्धिका साथै आफ्नो इज्जत र प्रतिष्ठाको समेत ख्याल गर्ने समय हो । आज कुनै त्यस्ता कार्य सम्पन्न हुनेछन्, जसले भविष्यमा राम्रो फाइदा दिलाउन सक्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । बेकारको चिन्ता र अनावश्यक भयले बारबार मन बिथोलिन सक्छ, मन एकतमासको बन्ने दिन हो । एकोहोरिनु र घोरिनुभन्दा कुनै बाँकी काम सम्पन्न गर्नु ठीक हुन्छ । जोखिम र झञ्झट मोल लिएर काम गर्ने समय छ । कुनै पनि काम गर्दा कागजपत्र पढेरमात्र सहीछाप गर्नुपर्ने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन हो । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउने दिन हो, सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ, तथापि पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनुपर्ने हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार र भाँडाकुँडाका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा आज अनपेक्षित विवाद एवं अपजसबाट बच्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!