संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले विगत पाँच बर्षमा हासिल भएका उपलब्धीहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवन उद्घाटन, जग्गादाताहरुलाई सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेर उपलब्धी सार्वजनिक गरेको हो ।

Advertisement

कार्यक्रममा पालिका अध्यक्ष खजिन्द्र राईले पालिकालाई पद्दतिमा सञ्चालन गर्न ५० वटा ऐन, कार्यविधि, निर्देशिका, नियमावली र बिनियमावली बनाईएको जानकारी दिए । अध्यक्ष राईले सार्वजनिक गरेको तथ्यांक अनुसार हरेक टोल र वडामा सडक सुविधा पुर्याइएको छ । पालिकाले महत्वपूर्ण ३ ठूला सडकहरु लाप्से कुरुले फलामेटार, राजारानी बोधे हङ्समोरङ्ग र धाराचौक अठारसय कुरुले सडक निर्माण तथा स्तरोन्नति गरेको छ । वडा स्तरका सडकहरु तथा पालिका हुंदै अन्तरजिल्ला जोड्ने सडकहरुको विस्तार तथा स्तरोन्नति गरिएको छ ।

भौतिक संरचनातर्फ भूकम्प प्राधिकरणसँगको समन्वयमा ४५ वटा विद्यालय भवन, १५ वटा शौचालय, १० वटा खोप केन्द्र, ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य ईकाइ भवन निर्माण गरिएको छ । पालिकाले प्रशासनीक भवन, जनजाति संग्रहालय, मगर जातिको संग्रहालय, सामुदायिक भवन, न्यायीक समितिको भवन, कवर्ड हल, नमुना बिद्यालय भवन, विभिन्न चर्चहरु निर्माण तथा संहार, झोलुंगे पुल निर्माण लगायत १७ वटा महत्वपूर्ण बिषयहरुमा काम भएको जनाएको छ । स्वास्थ्य तथा सरसफाईतर्फ १२ वटा स्वास्थ्य संस्थाहरुमा सुलभ फार्मेसी सेवा सञ्चालन गरिएको छ भने ५ वटा स्वास्थ्य संस्थाहरुमा ल्याव, ४ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर (प्रसुति सेवा) सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

यता राजारानी स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालमा स्तरोन्नती गरिएको छ भने विभिन्न स्वास्थ्य संस्थाहरुलाई आवश्यकता अनुसार स्वास्थ्य उपकरण तथा दरबन्दीको ब्यवस्था गरिएको र १० देखि ५० प्रतिशत सम्म छुटमा एम्बुलेन्स सेवा, अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । गर्भवती महिलाहरुलाई पोषिलो खाना तथा विभिन्न स्वास्थ्य सेवा, नागरिकहरुलाई निःशुल्क औषधी सेवा, विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन, स्वयंसेविकाहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाका सबै वडाहरुमा इन्टरनेट सेवाको बिस्तार गरिएको र पालिका तथा वडाहरुमार्फत राजश्व संकलनका कामहरु अनलाईनमार्फत सञ्चालनमा ल्याइएको छ । सामुदायिक बिद्यालयहरुमा कम्प्युटर शिक्षाको ब्यवस्थापन गरिएको छ ।

सामाजिक विकासतर्फ दलित तथा माझी बस्तीहरुमा बन्न लागेको ४६ घर मध्ये १० वटा सकिएको र ३६ वटा निर्माणको चरणमा छन् । पालिकाका १ हजार ५ सयभन्दा बढी घरधुरीलाई जस्तापाता वितरण गरिएको छ भने १ सय ३९ जनालाई सोलार बितरण गरिएको छ । जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता, विभिन्न सीप तथा उद्यमशिलता तालिम, विभिन्न राहत तथा खाद्यन्न बितरण लगायतका ३८ शिर्षकहरुमा पालिकाले काम गरेको छ । शैक्षिक क्षेत्रमा पालिकाले सरकारी कर्मचारीहरुका छोराछोरी अनिबार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति लागु गरेर ९० प्रतिशत भन्दा बढी सफलता हासिल गरेको जनाएको छ । पालिकाका सबै बिद्यालयहरुमा ईन्टरनेट र कम्प्युटर, फोटोकपी आदिको ब्यवस्था, नीजि तथा सामुदायिक बिद्यालयहरुमा पाठ्यक्रमको एकरुपता गरिएको छ ।

खानेपानी व्यवस्थापनका लागि प्रदेश सरकारको समन्वयमा कुरुले, बोधे, बुधुकमा ठूला लिफ्टिङ खानेपानी आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । कृषि तथा पशुपालनको क्षेत्रमा ३६ किसानहरुलाई मिनीटिलर, ५ सय जनालाई प्लाष्टिक टनेल, १२ वटा सिंचाई आयोजना सम्पन्न भएका छन् । २५ हजारको हाराहारीमा किवी, एभोकाडो, सुन्तला, ओखर, कागती लगायका बिरुवाहरु वितरण गरिएको छ । पालिकाले अमेरिकन फौजिकिरा नियन्त्रण तथा माछा, मौरी पालन, सब्जी तथा पशुपालन सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेको छ । पर्यटन विकासका लागि पालिका क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको डीपीआर तयार गरेको छ भने पालिकाकै सबैभन्दा ठूलो आयोजना अन्तर्गत वडा नं. २ मा रहेको धप्पड ताल निर्माणको काम शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!