- संगालोखबर सम्बाददाता

विराटनगर । बैंकको व्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायीहरु आन्दोलित भएका छन् । अस्वभाविक रुपमा भएको व्याजदर बृद्धिले मार परेको भन्दै आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायीहरुले मंगलबार प्रदर्शन गर्दै विराटनगरस्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

व्यानर र प्लेकार्ड बोकेर पुगेका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकका शाखा प्रमुख मीना पाण्डेलाई ज्ञापनपत्र बुझाए । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले बैंकका शाखा प्रमुख पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै ब्याजदर घटाउँन भूमिका निर्वाह गरी सहयोग पुर्याउँन आग्रह गरे । निक्षेप ब्याज ६ प्रतिशत र कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने उद्योगी व्यवसायीको माग छ । ज्ञापनपत्र बुझाउँन गएको टोलीलाई बैंकका सुरक्षा गार्डले रोकेपछि उनीहरु केही समय बैंक अगाडि धर्नामा बसे । उनीहरुले ब्याजदर घटाउँन माग गर्दै गभर्नरबिरुद्ध नारावाजी पनि गरे । व्यवसायीहरुले गेटमा बसेर नारावाजी गरेपछि बैंककी शाखा प्रमुख पाण्डे बाहिरै आएर ज्ञापनपत्र बुझिन् ।

अहिलेसम्म पूँजीगत खर्च करिब २० प्रतिशत मात्र हुनु सरकारको निरिहपन रहेको उनीहरुको आरोप छ । कूल निक्षेपको १८ अर्बजति संस्थागत निक्षेप रहेको र त्यस्तो निक्षेपमा बैंकहरुले ब्याजबृद्धि गरी ११ प्रतिशत कायम गर्नुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सृजना गर्ने भएकाले यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा झार्न उद्योगी व्यवसायीहरुले माग गर्दै आएका छन् ।

ब्याजदर घटाउँन माग गर्दै उद्योगी व्यवसायीहरु केही दिनयता नियमित आन्दोलनमा छन् । उनीहरुले सोमबार पत्रकार सम्मेलन गरेर ब्याजदर घटाउँन माग गरेका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पनि पठाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!