ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मार्च १५ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल द्धादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सुकर्मा योग, बालब करण । नेपालमा सूर्योदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४२ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल द्धादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग रहने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामकारोबारमा ध्यानकेन्द्रित हुनुका साथै आयको नयाँ स्रोतको पहिचान गर्ने दिन हो, बरु विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्नसक्छ । कार्यक्षेत्रमा परिवर्तनको धारणा आउन सक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । पार्टनरबाट कुनै नौलो कुरा सुन्न पाउँदा हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शत्रु र प्रतिस्पद्र्धीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ । विशेष ज्ञानको उदय हुने समय छ, बुद्धिकौशलको प्रयोग गर्नाले कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । नयाँ अनुभव वा ज्ञानराशि बटुलेर कारोबारलाई नयाँ ढंगले अघि बढाउने मनसाय बन्नसक्छ । हिसाबकिताबको मिलान र व्यवस्थापकीय जिम्मेबारीका लागि समेत केही समय छुट्याउनुपर्ने हुन्छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, सचेत हुनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ । धन वा प्रतिष्ठा प्राप्तिका लागि भरपर्दो समय त देखिंदैन, यद्यपि नयाँ कामको प्रस्ताव आउनसक्छ, तर आज हरेक क्रियाकलापमा खर्चबर्चमा नियन्त्रण गर्ने दिन हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ । त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने राम्रो दिन छ, बुद्धि र विवेकको सही प्रयोग गर्नसके शत्रुपक्षको समेत समर्थन जुटाउन सकिने छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिहिनेत गरेर बिग्रँदो आयस्रोतलाई उकास्न प्रयास गर्ने समय छ । बैङ्किङ, वित्तीय क्षेत्र, औषधी, फर्निचर, हातहतियार र फर्निसिङ क्षेत्रका व्यापारीहरू खुसी हुने दिन हो । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पद्र्धामा सहभागी हुनुछ भने निराश नहुनुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुस्खीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । मित्र र सहयोगीले बाचा पूरा गर्ने छैनन् र एैनमौकामा बन्नै लागेको काम बिग्रने सम्भावनासमेत देखिन्छ । त्यसैले कार्यक्षेत्रमा आफैं तन्मय भएर खट्नु बेस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनसाथीले भावना र इच्छाको कदर गर्ने समय छ, प्रयास गरेमा तनाव र बोझ कम गर्न सकिन्छ । कुनै मन पिरोल्ने समस्यालाई हल गर्न सक्नुहुन्छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । बाहिरको काममा दौडधूप गर्नुपर्ने परिस्थिति छ, दायित्व र बोझ पन्छाएर केही समय घुमघाम र रामरमाइलोमा बिताउने मनसायसमेत बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । मिहिनेत गर्नु त ठीकै हुन्छ, तर स्वास्थ्यस्थितिको ख्याल राख्नुहोला । खुट्टा तान्ने र पछाडि बसेर खिसीट्युरी गर्नेहरू सक्रिय हुने दिन छ । गल्ती हुन्छ कि भनी सचेत भएर काम गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । दार्शनिकता प्रति झुकाव बढ्नेछ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने समय हो । सांसारिक सुखप्रतिको अधिक झुकाव र जुनियर स्टाफको असहयोगका कारण बन्दव्यापार प्रभावित बन्ने दिन हो । तर आवश्यकता भएमा छोराछोरी वा भाइबहिनीले सहयोग गर्ने परिस्थिति छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!