संगालोखबर सम्बाददाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि गरेको र व्यवसायीक हितलाई मात्रै ध्यान दिएको भन्दै कारबाहीको लागि आयोगलाई सिफारिस गरेको जनाएका छन् ।

Advertisement

‘पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकाले नगर प्रमुख पदबाट निष्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरिएको व्यहोरा अवगत गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट उनलाई निष्काशन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारीमा समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ (२) बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी अनुशासनको स्पष्टीकरणसमेत सोधि पार्टी सदस्यता खारेजीको लागि प्रदेश कमिटीलाई सिफारिस गरिएको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पष्टीकरणमा निजले पालिकाको कामले पार्टीमा समय दिन नसकेको र पार्टी हित विपरीत जाने आफ्नो मनसाय नरहेको भनि जवाफ दिएतापनि आजसम्मको राजनीतिक गतिविधिमा पार्टी गोपनियता भंग गरेको, पार्टी अनुशासन नमानेको र वर्ग विरोधी क्रियाकलापमा लिप्त भएको कारण २०७८/११/१५ बाट लागू हुनेगरी नगर पार्टी कमिटीको सिफारिस अुनसार दिलिप कुमार अग्रवाल नेकपा (माओवादी केद्र) पार्टीको साधारण सदस्यसमेत खारेजी गरी पार्टीको कुनै आधिकारिक व्यक्ति नरहेको व्यहोरा सबैमा अवगत गराउँदछौं ।’

विज्ञप्तिमा बगडियाले छर्ने कुनै पनि भ्रमको पछाडि नलाग्न रंगेली नगर कमिटीका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा अपिल गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!