- संगालोखबर सम्वाददाता

धनकुटा । विवादित एमसीसीको पक्ष र विपक्षको मत बुझ्न नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले धनकुटामा गरेको जनमत संग्रहमा ९३ प्रतिशत मत एमसीसीको विपक्षमा खसेको छ । हुलाकटोलस्थित चुवाको बोट चौकमा गरिएको खुल्ला जनमत संग्रहमा एमसीसी खारेज गर्नुपर्ने पक्षमा ९३.४७ प्रतिशत मत खसेको हो ।

त्यस्तै, एमसीसीको पक्षमा ४.८१ प्रतिशत मत झरेको छ भने १.७१ प्रतिशत मत बदर भएको अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ । जनमत संग्रहमा कुल २९१ जनाले मतदान गरे । जसमध्ये एमसीसीको विपक्षमा २७२ जनाले मत खसाले भने पक्षमा १४ जनाले मतदान गरे । यता, खसेको मतमध्ये ५ मत भने बदर भएको छ ।

यसैबीच, जनमत संग्रहबाट आएको रिपोर्ट अनेरास्ववियू क्रान्तिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा पुगेको विद्यार्थीहरुको समूहले प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई जनमत संग्रहको रिपोर्टसहितको ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्रीसमक्ष पुर्याउँन आग्रह गरेको हो ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष सीताराम थोक्लेनद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा धनकुटेली जनताको मत एमसीसीको विरुद्धमा रहेको पाइएकाले जिल्लाका सांसदलाई पनि एमसीसीको विपक्षमा मतदान गर्न अपिल पनि गरिएको छ । यसैबीच एमसीसीको विरोध गर्दै धनकुटामा केही दिन यता मशाल जुलुश प्रदर्शन गर्ने क्रम बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!