उदयपुर । उदयपुरमा तीन बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । उनीहरु आफन्तबाटै बलात्कृत भएका हुन् ।
बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाबुबाट १४ वर्षीया झड्केली छोरी बलात्कृत भएकी हुन् । त्यस्तै उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाले बलात्कार गरेका हुन् भने त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिका काकाबाट बलात्कृत भएकी छन् ।
एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परीक्षणबाट खुलेको हो । बलात्कार आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षभित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।