संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का स्वास्थ्य विकासमन्त्री जयराम यादवले स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्र्याउँने चुनौतिपूर्ण कामलाई प्रदेश सरकारले अवसरका रुपमा लिएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

Advertisement

उनले प्रक्रिया पुर्र्याएर समिति अघि बढ्नसके सरकारले सामुदायिक स्वास्थ्य अस्पतालको लागि संरचना तयार गर्ने प्रतिवद्धता जनाए । फरक प्रशंगमा मन्त्री यादवले पूर्वराजा पृथ्वीनारायण शाहले दिएको नारा चार जात छत्तीस वर्णलाई पुरा गर्ने अभिभारा जनतामा आएको उल्लेख गरे । उनले भने, ‘पूर्व राजाले उठाएका सान्दर्भिक भनाईलाई पुरा गर्ने जिम्मेवारी हाम्रो हो । जनप्रतिनिधि र जनताको जिम्मेवारी अब चार जात छत्तीस वर्णको फुलवारी बनाउने हो ।’

राजनीतिक दल वा सामाजिक कार्यबाट हिमाल, तराई मधेश र पहाड क्षेत्रमा बसोबास गर्ने नेपालीलाई एउटै मालामा गाँसेर राष्ट्रलाई सम्मुन्नत बनाउनुपर्नेमा मन्त्री यादवले जोड दिए ।

कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले समाजको कामको प्रशंसा गरे । कोभिड १९ को पहिलो चरणबाट समाजले घर घरमा विरामी उपचार, सेनेटाइजरदेखि अक्सिजन पुराउने कार्य गरेको स्मरण गर्दै उनले समाजको कार्यशैली र युवाको समिश्रणले पृथक र प्रभावकारी भूमिका निर्वाह भएको बताए ।

कार्यक्रममा तिनटोलिया समाज सेवा समितिका अध्यक्ष डीगेन्द्र राउतले समाजले सदैव सामाजिक काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सात जनालाई सम्मान

कार्यक्रममा तिनटोलिया समाज सेवा समितिले बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने ७ जनालाई सम्मान गरेको छ ।

समाजले स्वास्थ्य क्षेत्रबाट विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालक एवं वरिष्ठ न्यूरो सर्जन डा. वीरेन्द्रकुमार विष्ट, साहित्य क्षेत्रबाट वरिष्ठ साहित्यकार मधु पोखरेल, वरिष्ठ नागरिकतर्फबाट पण्डित हरिप्रसाद निरौला, शिक्षा क्षेत्रबाट धुतर मण्डल, समाजिक क्षेत्रबाट लिलानाथ ढुंगेल, कलाकारिता क्षेत्रबाट भानु कला केन्द्रकी संस्थापक अध्यक्ष माया पौडेल र पत्रकारिता क्षेत्रबाट अभयकुमार राईलाई सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!