- संगालोखबर सम्बाददाता

विराटनगर । प्रजातन्त्र दिवसको अवसरमा शनिवार देशभर विभिन्न कार्यक्रम गरिएको छ । १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरिएको हो ।

दिवसको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले फलफूल वितरण गरेका छन् भने आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले श्रमदान गरेका छन् । प्रदेश सरकारले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरेको हो ।

आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियन लगायतले फलफूल वितरण कार्यक्रम राखेका हुन् । कार्यक्रममा मुख्यमन्त्री राईले बेसहारा मानवको सेवा गर्नु धर्म गर्नु सरह हुँने भन्दै सरकार बेसहारा नागरिकको जीवन रक्षा गर्न लागिपरेको बताए ।

यता, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा श्रमदान गरेर प्रजातन्त्र दिवस मनाएका छन् । जनताका आधारभूत आवश्यकता गाँस, बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा फरक ढंगले दिवस मनाएको मन्त्री कार्कीले बताए ।

सम्पन्न बस्तीमा एक सय ४५ घर निर्माण हुँदैछन् । विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि रोजिहिरा फाउण्डेसन र हामी युवाले स्वयंसेवक व्यवस्थापन गरिरहेका छन् । यो अभियानमा काम गर्न स्काउट लगायत विभिन्न संघसस्थाबाट पनि स्वयंसेवक परिचालन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!