ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ फेब्रुवरी १७ नेपाल सम्बत ११४१ सिल्लागा पारु फाल्गुन कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण प्रतिपदा तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३९ मिनेट देखि ८ बजेर ४ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण प्रतिपदा, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनु हुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धार्मिक, सामाजिक र परोपकारी काममा दौडधूप गर्नुपर्ने छ । सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहनेछ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका हरेक प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनुपर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्नसक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहनेछ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!